
काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा शुरु गरेको छ ।
यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौं लाइनमा बसेर पाउने सास्तीबाट बिरामीले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्र अन्तर्गतमा मिदास टेक्नोलोजी सफ्टवेरमार्फत् शुरु गरिएको छ ।
बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।
यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्ता माझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।
मिदास टेक्नोलोजी स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ ।
कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ७० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।
SHARE YOUR THOUGHTS