नक्कली बिल बनाएर कर छलेको आरोपमा राजस्व अनुसन्धानद्वारा मुद्दा दायर, १० करोड तिर्न माग « Eglish Khabarhub

नक्कली बिल बनाएर कर छलेको आरोपमा राजस्व अनुसन्धानद्वारा मुद्दा दायर, १० करोड तिर्न माग



काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको आरोपमा जय दुर्गा ट्रेडर्सका सञ्चालक र प्रोपराइटर विरुद्ध मुद्दा दायर गरेको छ ।

जय दुर्गा ट्रेडर्सका सञ्चालक भारतीय नागरिक धीरज कुमार जयसवाल, प्रोपराइटर सुमन कुमार श्रेष्ठ र कारोबारलाई सघाउने राहुल कुमार जयसवालले वित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गर्दा नक्कली बिल प्रयोग गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियम अनुसार तिर्नुपर्ने कर राजस्व छली गरेको विभागको आरोप छ ।

विभागले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा जय दुर्गा ट्रेडर्सका सञ्चालकले राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (पहिलो संशोधन सहित)को दफा ४ अनुसार मुअकर, आयकर र जरिवाना सहित १० करोड ९३ लाख २ हजार ६७६ रुपैयाँ तिर्नुपर्ने माग गरिएको छ ।

ऐनको दफा ४ को उपदफा (क), (ख) र (ग) तथा हाल संशोधित दफा ४ को उपदफा (क), (ग) र (झ) (बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा २ (छ१) हुन आउने मुअकरतर्फ १ करोड ७१ लाख ३२ हजार १७० रुपैयाँ र आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १६८ रुपैयाँ समेत गरी ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ बुझाउनु पर्ने माग गरिएको छ ।

यस्तै, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन सहित) ऐन, २०५२ को दफा २३ (१) बमोजिम प्रतिवादीहरुबाट विगो बराबर नै ५ करोड ४६ लाख ५१ हजार ३३८ जरिवाना तिराउन माग गरिएको छ ।

Publish on: