काठमाडौं । सरकारले ५ जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सचिवको जिम्मेवारी हेरफेरको निर्णय गरेको हो ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । प्रदेश १ को प्रमुख सचिव रहेका विनोद सिंहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायालाई वाणिज्य मन्त्रालयमा लगिएको छ । त्यस्तै वाणिज्य मन्त्रालयका सचिव डा गणेश पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।
अख्तियारको सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिइएको छ ।
यस्तै सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकसमेत परिवर्तन गरेको छ । प्रधानमन्त्री कार्यालयका सहसचिव ताराप्रसाद अधिकारीलाई विभागको महानिर्देशक बनाइएको छ । विभागका महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।
SHARE YOUR THOUGHTS