![](https://internal.appharu.com/wp-content/uploads/2020/09/sahuliyat-Pasal-Clickmandu.jpg)
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंलक्षित सुपथ मूल्य पसल भोलिबाट सञ्चालन गर्ने भएको छ ।
कम्पनीले असोज १ गतेदेखि आगामी कात्तिक १५ गतेसम्म सुपथ मूल्य सञ्चालन गर्ने भएको हो ।
कम्पनीका सुचना अधिकारी शर्मिला न्यौपानेले भोलिबाट उपत्यकाका ४ स्थानसहित ३८ जिल्लाका ४१ वटा बिक्री केन्द्रहरुबाट सुपथ मूल्य पसल सञ्चालन हुने बताइन् । कम्पनीले उपत्यकाका ४ बिक्री केन्द्रहरू थापाथली रामशाहपथ, नख्खु र सूर्यविनायकमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ ।
कम्पनीले ‘पर्वोत्सव’ सुपथ मूल्यमा विभिन्न छुटको व्यवस्था गरेको छ । कम्पनीअनुसार सुपथ मूल्य पसलमा कालानुनिया चामल (काला नमक), अरुवा वासमति, ब्राउन बासमति, ब्राउन चामल, मार्सी चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मनसुली चामल, अरुवा सावाँ चामल, स्टीम जिरा मसिनो चामल बिक्री गर्नेछ ।
त्यसैगरी, दालको प्रकारमा मुसुरो, मास, रहर, छाँटा र खोस्टे दाल, तेलको प्रकारमा तोरीको तेल, सन्फ्लावर तेल, भटमासको तेल र गेडागुडीमा क्वाँटी र कर्णालीको सिमी बिक्री गर्ने भएको छ ।
अन्य खाद्य वस्तुहरुमा गहुँ दाना, आँटा, मैदा, चिउरा, नुन र ग्याँस/ग्याँस सिलिण्डरसहित इन्डक्सन चुल्हो यूटीआईएनई२० बिक्री गर्नेछ ।
कम्पनीले उक्त बिक्री गर्ने विभिन्न खाद्य वस्तुमा छुटको व्यवस्था गरेको छ ।
कम्पनीअनुसार सुपथ मूल्य पसलबाट विभिन्न प्रकारका चामलमा प्रतिकेजी ७ रुपैयाँ, कर्णालीको सीमी खरिदमा प्रतिकेजी १० रुपैयाँ, दालहरुको खरिदमा प्रतिकेजी ७ रुवैयाँ, तेलको खरिदमा ७ रुपैयाँ, अन्य गहुँ, पिठो, चिउरामा प्रतिकेजी ७ रुपैयाँ र जिउदो खसीबोका च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरेको छ । सो पसल बिहना १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले यो वर्ष उपत्यकाबासीका लागि ३ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ ।
SHARE YOUR THOUGHTS