![](https://internal.appharu.com/wp-content/uploads/2022/09/sandeep-lamichane-768x722.jpg)
काठमाडौं । नाबालिग किशोरी बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको छ ।
लामिछानेले आफू नेपाल आउने तरखरमा रहेको बताएसँगै उनीविरुद्ध इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरिसकेको प्रहरीले जनाकारी दिएको छ । लामिछाने विदेशमा रहेको समयमै सम्पर्कविहीन भएपछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले लामिछानेविरुद्ध फरारसूचीमा राख्दै डिफ्युजन नोटिस जारी गरेको हो ।
उनीविरुद्ध तीन दिनअघि नै नोटिस जारी भएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
यससँगै अब सन्दीप इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीको फरारसूचीमा परेका छन् । यी देशमा लामिछाने भेटिए सम्बन्धित देशका प्रहरीले उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाउन सक्छन् ।
नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा लामिछानेविरुद्ध प्रहरीमा जाहेरी परेको थियो । घटनाको भोलिपल्टै लामिछाने केन्यविरुद्ध ट्वन्टी-२० श्रृंखला खेल्न नैरोबी प्रस्थान गरेको उजुरीमा उल्लेख गरिएको छ ।
उक्त श्रृंखलापछि उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि वेस्टइन्डिज पुगेका थिए । क्यानसँग पनि सम्पर्कमा रहेका भनिएका उनी त्यसपछि भने सम्पर्क विहीन छन् ।
हिजो राति उनले आफू नेपाल आउने तरखरमा रहेको जनाएका थिए । आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै कानुनी उपचार खोज्ने बताएका थिए । तर लामिछानेले कुन देशमा छु भन्नेबारे भने केही उल्लेख गरेका छैनन् ।
SHARE YOUR THOUGHTS