![](https://internal.appharu.com/wp-content/uploads/2018/08/bike-and-scoote.jpg)
झापा । झापाको बिर्तामोड नगरपालिकामा मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् ।
बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।
मत्यु हुनेमा मे ३ प ५५८० नंका मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेन र मे ५ प १६०४ नंका मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ को भोलाराज भुजेल छन् ।
भुजेलको मोटरसाइकलमा सवार उनकी पत्नी ४२ वर्षीया चन्द्रकला भुजेल र नौ वर्षीया छोरी प्रशना भुजेल घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकामा उपचारका क्रममा दुवै मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको हो ।
घाइते आमा–छोरीलाई थप उपचारका लागि बिर्तामोड बिर्तासिटी अस्पताल लगिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
SHARE YOUR THOUGHTS