![](https://internal.appharu.com/wp-content/uploads/2022/10/mof-ministry-of-finance-768x413.jpg)
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तीन महिनामा २ खर्ब ७८ अर्ब रुपैयाँ खर्च गरेको छ । ३ महिनाको अवधिमा २ खर्ब २३ अर्ब रुपैयाँ चालू खर्च गरेको सरकारले २ खर्ब ८ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गर्न सकेको छ ।
यो वर्षको तीन महिनामा साधारण प्रकृतिको चालु खर्च गर्नसमेत सरकारले आन्तरिक ऋण लिएको छ ।
तीन महिनाको अवधिमा १९ अर्ब ६८ करोड पूँजीगत खर्च गर्न सकेको सरकारले वित्तीय व्यवस्थापनमा ३४ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ ।
गत वर्षको तीन महिनामा आम्दानी भन्दा खर्च कम थियो । तर, यो वर्षको तीन महिनामा पूँजीगत खर्च ५.१७ प्रतिशत अर्थात १९ अर्ब ६८ करोड रुपैयाँ खर्च हुँदा समेत आम्दानीभन्दा खर्च बढी भएको छ । जसले गर्दा सरकारले ऋण लिएर वित्तीय व्यवस्थापन गर्नु परेको हो ।
प्रदेश र संघिय निर्वाचनका लागि करिब २५ अर्ब रुपैयाँ खर्च भएकाले यो वर्ष चालू खर्च बढेको अर्थमन्त्रालयका अधिकारीको तर्क छ ।
गत वर्षको तीन महिनामा सरकारले २ खर्ब ५५ अर्ब रुपैयाँ आम्दानी गर्दा २ खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको थियो । त्यसमा पनि चालु तर्फ १ खर्ब ६ अर्ब रुपैयाँ,पुँजीगततर्फ १४ अर्ब ८ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३३ अर्ब ११ करोड रुपैयाँ खर्च भएको थियो ।
SHARE YOUR THOUGHTS