शरद ऋतुमा हिमाल चढ्न १ हजार ३० जनाले लिए अनुमति, ७ करोड रुपैयाँ राजस्व संकलन « Eglish Khabarhub

शरद ऋतुमा हिमाल चढ्न १ हजार ३० जनाले लिए अनुमति, ७ करोड रुपैयाँ राजस्व संकलन



काठमाडौं । शरद ऋतुमा हिमाल चढ्नका लागि १ हजार ३० जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागकाअनुसार यस पटक शरद ऋतुको समयमा नेपालमा रहेका हिमाल आरोहणका लागि विभिन्न देशका नागरिकहरुले अनुमति लिएका हुन् ।

विभागको पर्वतारोहण शाखाका निर्देशक युवराज खतिवडाकाअनुसार अनुमति लिएका १ हजार ३० जनामध्ये १८ जना नेपालीहरु रहेका छन् भने बाँकी १ हजार १२ जना विभिन्न देशबाट रहेका छन् । आरोहणका लागि अनुमति लिने पर्यटकहरु विभिन्न ७४ देशका रहेका छन् ।

आरोहण अनुमति लिएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकाबाट रहेका छन् । अमेरिकाबाट २१ जना महिला र ६२ जना पुरुष गरि ८३ जनाले हिमाल आरोहणको अनुमति लिएका छन् ।

यसरी लिइएको अनुमतिबाट देशलाई कुल ७ करोड ६३ लाख ४८ हजार ९५८ (५ लाख ९५ हजार २७५ अमेरिकी डलर) बराबरको आम्दानी भएको छ ।

कुन देशबाट कति जनाले लिए अनुमति ?

अमेरिकापछि बेलायतबाट सबैभन्दा धेरेले आरोहणको अनुमति लिएका छन् । बेलायतबाट कुल ७७ जनाले आरोहणको अनुमति लिएका छन् । जसमध्ये ६४ जना पुरुष र १३ जना महिला रहेका छन् । त्यस्तै, जर्मनीबाट २४ जना महिला र ४९ जना पुरुषले हिमाल आरोहणको अनुमति लिएका छन् ।

त्यस्तै, फ्रान्सबाट हिमाल आरोहणका लागि १३ जना महिला र ५९ जना पुरुष गरि कुल ७२ जनाले अनुमति लिएका छन् ।

आरोहणका लागि अनुमति लिने अन्य देशहरुमा युएईबाट १० जना, स्वीजरल्याण्डबाट ४१ जना, स्पेनबाट ६२ जना, दक्षिण कोरियाबाट १५ जना, स्लोभेनियाबाट १९ जना, रसियन फेडेरेसनबाट ५४ जना, पोल्याण्डबाट ४३ जना, नर्वेबाट १६ जना, नेदरल्याण्डबाट १४ जना, मेक्सिकोबाट १२ जना, जापानबाट २७ जना, इटलीबाट ३० जना, भारतबाट ४० जना, चेक रिपब्लिकबाट १८ जना, चीनबाट १९ जना, क्यानडाबाट १८ जना, बेल्जियमबाट ११ जना, अर्जेन्टिनाबाट २१ जना, अष्ट्रेलियाबाट २५ जना रहेका छन् ।

यो सिजनमा नेपालबाट हिमाल आरोहणका लागि अनुमति लिनेहरुको संख्या १८ जना रहेको छ ।

४० हिमाल आरोहणको अनुमति, तीन हिमाल ८ हजार मिटर माथिका

विभागको तथ्यांककाअनुसार यसरी आरोहणका अनुमति लिइएका हिमालहरु ४० वटा रहेका छन् ।

४० मध्ये तीन वटा हिमाल भने ८ हजार मिटरभन्दा धेरैका रहेका छन् । जसमा सगरमाथा, धौलागिरी र छो–ओ–यु रहेका छन् । यीमध्ये सगरमाथा आरोहणका लागि ५ जना, धौलागिरीका लागि ३४ जना र छो–ओ–युका लागि ११ जनाले अनुमति लिएका छन् ।

सबैभन्दा धेरै आरोहणको अनुमति लिइएको हिमालहरुमा अमादाब्लम (२०० जना), हिमलुङ्ग (१५६ जना) र मनास्लु (४०४) जना रहेका छन् ।

यी बाहेक थोरोङ्ग पिक (१७ जना) , थापा पिक (३ जना), थामसेर्कु (२ जना), तेन्जी रागी ताउ (३ जना), सिता चुचुरो (२ जना), मुकोट हिमाल (१५ जना), सरीबुङ्ग (१३ जना), लछामा चुली (१३ जना), खाङ्ग खर्पो (११ जना), धौलागिरी दोस्रो (२ जना), अन्नपूर्ण चौथो (२० जना), बरुन्त्से (२५ जना) लगायत रहेका छन् ।

Publish on: