![](https://internal.appharu.com/wp-content/uploads/2022/09/Jeebaram-768x437.png)
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनले गरेको विकासबाट विश्वले पाठ सिक्न आवश्यक रहेको बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजना भएको चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । मन्त्री श्रेष्ठले नेपालले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै चीनको विकासबाट विश्वले पाठ सिक्नुपर्ने बताए ।
उनले नेपाल–चीन बीचमा कुटनीतिक सम्बन्धदेखि सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएको बताए । उनले जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने उल्लेख गरे । उनले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको बताए । उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गरे ।
‘चीनले उदाहरणीय परिवर्तनका काम गरेको छ, यो संसारका लागि नै उदाहरणीय विषय बनेको छ । चीनको जुन, उन्नती, प्रगति छ, चीनले गरेका विकास निर्माणका कुराहरु छन, त्यसले चीन–नेपालको सदियौँदेखिको सम्बन्ध बिस्तार भएको छ । चीन नेपालको बीचमा कुटनीतिक सम्बन्धका कुराहरु, सरकारी स्तरका कुरा, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध, व्यवसायिक सम्बन्ध बिस्तार भएका छन् । लुम्बिनीले पनि चीनलाई जोडेको छ । जनस्तरमा भएको चीन–नेपाल बीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनेछ । चीनको विकासले नेपाल पनि लाभान्वित हुनेछ । नेपालको विकासमा चीन सरकारले गरेको सहयोग भइरहेको छ, पूर्वाधार विकासमा सहयोग भएको छ, भूकम्पबाट धेरै क्षति भएका कुरामा चीनले सहयोग गरेको छ । हामी त्यो बेलामा अफ्ठ्यारो स्थितिमा थियौँ । त्यो अवस्थामा चीन सरकारले गरेको क्षतिग्रस्त सांस्कृतिक सम्पदालाई निर्माण गर्ने कुराहरुमा धेरै सहयोग गरेको छ ।’ उनले भने ।
मन्त्री श्रेष्ठले कोरोना कालमा नेपाललाई चीन सरकारले गरेको सहयोग प्रशंसनीय रहेको बताए । चीनको विकास, उन्नती र आर्थिक प्रगतिको कामना गरे । फोटो प्रदर्शनीमा चीन सरकारले विगत १० वर्षमा कसरी देशको विकास गर्न सक्षम भयो भन्नेकुरा देखाइएको थियो ।
SHARE YOUR THOUGHTS