
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जा सम्बन्धी नीति संसोधन गर्न राष्ट्र बैंक तयार गरेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले बजारलाई अनुशासनमा राख्न राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयनमा ल्याएको बताए ।
‘हामीले निरन्तर छलफल गरेर चालु पुँजी कर्जा सम्बन्धी नीति कात्तिक १ गतेबाट कार्यान्वयनमा ल्याएका थियौं । अझै पनि सरोकारवाला निकायका केही असहमति छन् भने संसोधन गर्न हामी तयार छौं,’ अधिकारीले भने,‘संविधान न संसोधन हुन्छ भने सरकारले ल्याएको नीति संसोधन नहुने भन्ने हुँदैन । तर, अनुशासनमा सबै बस्नै पर्छ । अनुशासनमा बस्नु पर्छ भन्ने सोचले नै चालु पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयन गरिएको छ ।’
नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक १ गतेबाट कार्यान्वयनमा आएको चालु पुँजीकर्जा सम्बन्धी नीति २ वर्षका लागि स्थगीत हुनु पर्ने माग गर्दै आएको छ ।
गभर्नर अधिकारीले सेजनको कार्याक्रममा उद्योगी, व्यवसायी, बैकर लगायत सरोकारवाला निकायले दिने सुझावमा उक्त नीपि संसोधन गर्न तयार रहेको बताए पनि उद्योगीको माग अनुसार चालु पुँजी कर्जा सम्बन्धी नीति फिर्ता भने नलिने संकेत गरे ।
विश्व अर्थतन्त्रले संकट सामना गरिरहेकोले नेपालले पनि गम्भिर भएर नीति लिनु पर्ने अधिकारीको भनाइ छ । ‘रेमिट्यान्स ल्याउने, सोही रकम प्रयोग गरेर आयात गर्ने, राजस्व संकलन गर्ने अनि देश चलाउने बाटोमा गएर हुन्छ ?,’ अधिकारीले प्रश्न भने, ‘हामी भिसियस सर्कलमा छौं । सधैं यसरी चल्छ जस्तो लाग्दैन् ।’
कोरोना महामारीको क्रममा दिइएको सहुलियतका साइट इफेक्टहरु देखिएको अधिकारीले बताए ।
‘कोरोना महामारीपछि सुधार भईरहेको अर्थतन्त्रलाई रसिया र युक्रेन युद्धले नकारात्मक असर परेको छ । दक्षिण एसियामा हाम्रो अर्थतन्त्र दोस्रो राम्रो अवस्थामा छ,’ अधिकारीले भने, ‘भारतको अर्थतन्त्र सबल हुनुका राजनीतिक स्थाइत्वको महत्वपूर्ण योगदान छ । ’
गत आर्थिक वर्षमा विदेशी मुद्रा सञ्चिति उच्च दरमा घटेपछि राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिति जोगाउने गरि नीति लिएको गभर्नर अधिकारी बताए । ‘तरलता सहज हुँदै जाँदा ब्याजदर घट्दै जाने राष्ट बैंकको विश्वास छ,’ अधिकारीले भने ।
SHARE YOUR THOUGHTS