२९ मंसिर २०८२, आइतबार

चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शनः ६ महिना स्थगित गरे के हुन्छ, तत्काल कार्यान्वयन गर्दा के बिग्रिन्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाहिर चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २ वर्ष स्थगित हुनु पर्ने माग गरेका उद्योगी व्यवसायीहरु भित्रीरुपमा भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा मार्गदर्शन कार्यान्वयन नगर्न माग गरिरहेका छन् । वित्तीय सुशासन कायम गर्न विगतमै कार्यान्वयन हुनु पर्ने मागदर्शन अहिलेसम्म कार्यान्वयन नगरेको नेपाल राष्ट्र बैंकले केही महिना मार्गदर्शनमा लचिलो व्यवस्था राख्दा के बिग्रन्छ ?

काठमाडौं । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न पुगेको व्यवसायीको समूहले तत्काल चालू पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयन गरिए कयौं व्यवसायी समस्यामा पर्ने बताए ।

विगतमा बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा सजिलै कर्जा दिँदा व्यवसाय भन्दा पनि घर जग्गा र शेयर बजारमा लगानी गरेको स्वीकार गर्दै अहिले राष्ट्र बैंकले भने अनुसार कर्जा व्यस्थापन गर्न सक्ने अवस्था नरहेको बताए ।

‘विगतमा बैंकले बार्षिक कारोबार, स्टक र वित्तीय विवरण नहेरेर ओभर ड्राफ्ट कर्जा दिने गरेका थिए,’ व्यवसायीले गभर्नरलाई भने, ‘अहिले तपाईंहरुले कारोबारको २० प्रतिशतभन्दा बढी कर्जा लिन पाइँदैन भन्नु भयो । केही व्यवसायीले घर जग्गा धितो राखेर कारोबारभन्दा बढी कर्जा लिएका छन् । अहिले स्टक धितो राखेरमात्रै कर्जा लिन पाइने भन्नु भयो । विगतमा भएका सबै गल्तीलाई एकैपटक कसरी व्यवस्थापन गर्ने ?’

व्यवसायीहरुले चालु आर्थिक वर्षको अन्त्य सम्ममा चालु पूँजी कर्जा सम्बन्धी नीति स्थगित गरिए कारोबार मिलाउने र अर्काे वर्षबाट राष्ट्र बैंकले भने अनुसार कर्जा लिने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका एक अधिकारी विगतमा कुनै नियम पालना नगरी कर्जा लिएका व्यवसायीहरु कयौं नियम पूरा गर्नु पर्ने भएपछि चिन्तित भएको बताउँछन् ।

‘असोजको ब्याज तिर्न नसकिरहेको अवस्थामा पुसदेखि साँवा घटाउनु पर्ने अवस्था आएको छ ,’एक व्यवसायी भन्छन्, ‘शेयरको मुल्य १०० प्रतिशतले घटेको छ । जग्गा कित्ताकाट बन्द छ । घरमा पैसा राखेको छैन । हामीले कहाँबाट ल्याएर पैसा तिर्ने ?’

राष्ट्र बैंकले बिग्रेको हिसाबकिताब मिलाउन केही समय दिए बैंकको कालोसूचिमा पर्नबाट जोगिने भएकाले तत्काल चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन स्थगन गर्नुको विकल्प नभएको व्यवसायीहरु बताउँछन् ।

भयो अलमल

राष्ट्र बैंकका अधिकारीहरु साना व्यवसायीले मार्गदर्शनको विषयमा जानकार नुहँदा ठूलो समस्या आएको बताउँछन् । बाणिज्य बैंकहरु ऋणीलाई चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनले गर्दा विगतमा लिएको कर्जा चुक्ता गर्नु पर्ने जानकारी दिएकाले उद्योगी व्यवसायी आत्तिएको बताउँछन् ।

‘मागदर्शनले बिगतमा लिएको कर्जा फिर्ता गर्नु पर्छ भएको छैन । मार्गदर्शनमा बार्षिक कारोबारको ४० प्रतिशत सम्म चालू पुँजी कर्जा लिन पाइने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट भन्छन्, ‘२ करोड रुपैयाँभन्दा बढी कर्जा लिने संस्थाले बार्षिक कारोबारको २५ प्रतिशतसम्म चालू पूँजी कर्जा लिन पाउँछन् । यदि कसैलाई त्यो भन्दा बढी रकम आवश्यक भएका स्थायी चालु पूँजी कर्जा लिन पाइने व्यवस्था छ ।’

राष्ट्र बैंकका अधिकारीहरु यदि आजका दिनका कुनै संस्थाले वार्षिक कारोबारको २० प्रतिशतभन्दा बढी चालू पुँजी प्रकृतिको कर्जा लिएको भए ५ वर्षको आवधिक प्रकृतिको स्थायी चालु पुँजी कर्जामा परिवर्तन गर्न सकिने बताउँछन् ।

आवधिक प्रकृतिको कर्जा लिँदा समेत व्यवसायीले स्टकमा पर्याप्त सामान भने देखाउनु पर्छ । घर जग्गामा अन्य सम्पत्ति धितो राखेर पनि चालू पुँजी प्रकृतिको कर्जा दिन मिल्दैन । त्यसैगरी आवधिक प्रकृतिको स्थायी चालु पुँजी कर्जा लिँदा व्यवसायीले हरेक त्रैमासको अन्त्यमा सावाँ र ब्याज तिर्नु पर्छ ।

अहिले व्यवसायीले चालू पुँजी प्रकृतिको कर्जा लिएर व्यवसायभन्दा पनि शेयर बजार र घर जग्गामा लगानी गरेकाले स्थायी राष्ट्र बैंकले भने अनुसार स्थायी प्रकृतिको चालु पूँजी कर्जा लिन समस्या छैन ।

राष्ट्र बैंकका अधिकारीहरु चालू पुँजी कर्जा लिएर गाडी, शेयर वा घर जग्गा खरिद गरेको भएपनि त्यस्तो कर्जालाई गाडी कर्जा, घरजग्गा कर्जा वा शेयर कर्जामा परिर्वतन गर्नु पर्ने बताउँछन् । चालू पुँजी कर्जाबाट गाडी किनेको अवस्थामा त्यस्तो कर्जालाई गाडी कर्जा बनाउन खासै समस्या छैन । तर, अहिले शेयर कर्जा वा घर जग्गा कर्जामा परिवर्तन गर्न समेत निकै कठिन छ । किनभने, शेयरको मूल्य दुई वर्ष अगाडीको तुलनामा १०० प्रतिशतले घटेको छ । त्यसैगरी पछिल्लो दुई वर्षमा घर जग्गाको मूल्य समेत खासै बढेको छैन । बैंकबाट लिएको चालु पूँजी कर्जाको रकम भन्दा आजका दिनमा शेयर र जग्गाको मूल्य निकै कम छ । जसले गर्दा उद्योगी व्यवसायीले चालू पुँजी कर्जालाई शेयर कर्जा वा घर जग्गा कर्जामा रुपान्तरण गर्न सक्ने अवस्था छैन ।

‘हिँजोका दिनमा हामीबाट गल्ती भएको छ । हामीले राष्ट्र बैंकको नीतिको विरोध गरेकै छैनौं । वित्तीय प्रणाली बलियो बनाउन चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन हुन जरुरी छ,’ नेपाल उद्योग वाणिज्य महासंघका एक अधिकारीले क्लिकमाण्डूसँग भने, ‘अहिले हामीले कारोबार मिलाउने समय मागेका हौं । यदि हामीले बैंकलाई समयमा सावाँ नतिर्ने हो भने कालोसुचीमा राख्ने जोखिम हुन्छ । त्यसले हाम्रो समग्र कारोबार ध्वस्त हुन्छ । घर जग्गाको कित्ताकाट खुल्ला हुन्जेलसम्म चालू पुँजी कर्जा सम्बन्धी नीति कार्यान्वयन हुनु हुँदैन भन्ने हाम्रो भनाइ हो ।’

बैंकले आगामी दिनमा जबर्जस्ती चालू पुँजी कर्जा घटाउन ताकेता गरेपनि उद्योगी व्यवसायीले अहिले कारोबार मिलाउन सक्ने अवस्था देखिँदैन ।

‘हामीले सावाँ र ब्याज तिर्न नसकेको अवस्थामा बैंकले हाम्रो सम्पत्ति लिलाम गर्छ होला तर अहिले लिलाम बिक्न सकेको छैन,’ एक व्यवसायी भन्छन्,‘अहिलेसम्म हामी कर्जा तिर्छाै भनिरहेका छौं । कारोबार मिलाउँछौं भनिरहेका छौं । यदि व्यवसायी पैसा तिर्न नसक्ने र लिलाम पनि बिक्री नहुने अवस्था आयो भने बैंकिङ प्रणाली कहाँ पुग्छ ?’

क्लिकमाण्डूले कुराकानी गरेका केही वाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृतका अनुसार अहिले गत असोज मसान्तको ब्याज उठ्न सकेको छैन, त्यसैगरी बैंकले कात्तिक र मंसिरमा निकालेको लिलाम सकार्ने व्यक्ति नै कोही आएका छैनन् । बैंकले आफ्नो स्थिर सम्पत्ति धमाधम बिक्रीमा राखेका छन् । तर, त्यो पनि बिक्री भएको छैन ।

‘बैंकले कर्जा नदिँदासम्म ठूलो सम्पत्ति खरिद गर्न कोहि आउँदैनन्,’ बैंकरहरु भन्छन्,‘केन्द्रीय बैंकले लिलाम बिक्री गरेर सम्पत्ती उठाउँछु भन्नु भन्दा थप कर्जा नदिने गरी अहिले व्यवसायीलाई केही समय दिनु पर्छ ।’

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ५६ मा बैंक वा वित्तीय संस्थाले जुन प्रयोजनको लागि ऋणीलाई कर्जा दिएको हो सही प्रयोजनमा कर्जा रकम उपयोग गर्नु पर्ने उल्लेख छ । कुनै ऋणीले कर्जा दुरुपयोग गरेमा ऐनको दफा ५७ अनुसार धितो बिक्री गरेर कर्जा असूल गर्नु पर्ने उल्लेख छ ।

अहिले ऋणी आफैंले कर्जा दुरुपयोग गरेको स्वीकार गरिरहेका छन् । बैंकले कानून अनुसार धितो बिक्री गर्न समेत कर्जा असुल हुने अवस्था छैन । त्यसैले राष्ट्र बैंकले केही महिना समय दिँदैमा विगतका बिकृति सुधार हुन्छन् भने राष्ट्र बैंक लचिलो हुनै पर्छ ।

राष्ट्र बैंकले नयाँ चालु पुँजी कर्जा नविकरण गर्दा नयाँ नियम लागु हुने र विगतमा लिएको कर्जामा केही महिना सहुलियत दिए उद्योगी व्यवसायीलाई आफ्नो कुरा सुनिएको भान हुनुको साथै राष्ट्र बैंकलाई समेत नियम कार्यान्वयन गर्न सहज हुनेछ ।

‘हामीहरुले चालू पुँजी कर्जामा भएका सबै विषय संशोधन गर्न खुल्ला छौं,’ राष्ट्र बैंकका एक अधिकारी भन्छन्,‘व्यवसायीले केही ठोस सुझाव दिन्छन् कि भनेर पर्खिएका थियौं । तर, व्यवसायीले स्थगित गर्नु पर्ने बाहेका केही सुझाव दिएनन् । बैंकरबाट केही सुझाव आएका छन् । सबैलाई मिलाएर केही दिन भित्र नयाँ सर्कुलर जारी गर्ने हाम्रो तयारी छ ।’