
काठमाडौं । प्रभु बैंकको साधारण सम्पन्न भएको छ । बिहीबार बैंकको २१औं वार्षिक साधारण सभा विभिन्न निर्णयहरु पारित गर्दै सम्पन्न भएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको बैंकको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको गत आव. २०७८/०७९ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ ।
साधारणसभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सामान्य तथा विशेष प्रस्तावहरु पारित गर्दै बैंकले गत आव. २०७८/७९ को मुनाफाबाट गत आव २०७८/०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको ६.५० प्रतिशत बोनश शेयर र बोनश शेयर र नगद लाभांसमा लाग्ने कर समेतका लागि १.५० प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय पारित गरेको छ ।
वार्षिक साधारण सभाले सेञ्चुरी कमर्सियल बैंकको १०० कित्ता शेयर बराबर प्रभु बैंक लि. को १०० कित्ता शेयर प्रदान गर्ने गरी सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने संयुक्त मर्जर समितिले गरेको अन्तिम सम्झौतालाई सर्वसम्मतीबाट पारित/अनुमोदन गरेको छ ।
साधारण सभाले बैंकको अधिकृत पूँजी वृद्धि गरी २४ अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको छ । साधारण सभाबाट पारित निर्णय अनुसार बैंकको प्रबन्ध–पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने क्रममा सम्बन्धित नियमनकारी निकायहरुबाट कुनै निर्देशन, सुझाव प्राप्त भएमा सो को आधारमा आवश्यक परिमार्जन गर्न तथा सेञ्चुरी कमर्सियल बैंक लि. लाई प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा अन्य आवश्यक सबै कार्य गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पारित गरेको छ ।
साधारण सभाले ६.५० प्रतिशत बोनश शेयर वितरण गर्ने निर्णय पारित गरे पश्चात् बैंकको चुक्ता पूँजी १३ अर्ब ५३ करोड ४७ लाख ६९ हजार ९ सय ४६ रुपैयाँ पुगेको छ ।
SHARE YOUR THOUGHTS