![](https://internal.appharu.com/wp-content/uploads/2020/06/Corona-Life-2_kwZBxJpP1M.jpg)
काठमाडौं । मंसिर ६ गते नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको रोहवरमा बीमा कम्पनीहरुसँग बसेको बैठकले मंसिर १३ गतेदेखि कारोना बीमाको दाबी रकम भुक्तानी गर्ने निर्णय गरेको थियो ।
सरकारले आफ्नो दायित्वमा परेको रकम निकासा नगरेको भन्दै कम्पनीहरुले २०७८ साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए ।
कम्पनीहरुले भुक्तानी रोकेको लामो समयपछि सरकारले आफ्नो दायित्व स्वीकार गर्दै कोरोना बीमाको दाबी भुक्तानीको लागि १ अर्ब रुपैयाँ निकासा गरेको थियो ।
सरकारले निकासा गरेको १ अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानी नेपाल पुनर्बीमा कम्पनीबाट १२ प्रतिशत, बीमा कम्पनीबाट २५ प्रतिशत र बीमा प्राधिकरणबाट ८ प्रतिशत रकम भुक्तानी गर्ने मोडालिटि बनेको थियो ।
सोही बमोजिम कम्पनीहरुले व्यक्तिगतरुपमा बीमाशुल्क तिरेर बीमालेख गर्ने बीमितहरुलाई पहिलो प्राथमिकतामा राखी भुक्तानी दिन सुरु गरेका थिए ।
यस बाहेकका दाबीकर्ताहरुको हकमा भने नेपाल सरकार र नेपाल बीमा प्राधिकरणबाट आगामी दिनमा गरिने निर्णयअनुसार क्रमशः भुक्तानी गरिने संघले निर्णय गरेको थियो ।
संघकाअनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा बीमा दाबी भुक्तानी गर्न बाँकी छ । सोमध्ये १८ हजार ६० वटा बीमालेखको मात्रै भुक्तानी गरिने बीमक संघले योजना बनाएको थियो ।
हालसम्म पहिलो लटमा १३ हजार बीमितलाई रकम वितरण गरिएको संघले जनाएको छ । यो तथ्यांक गत सातासम्मको तथ्यांक हो । संघकाअनुसार व्यक्तिगततर्फ हालसम्म १३ हजार १९९ जना बीमितले रकम पाएका हुन् । १३ हजार १९९ वटा बीमा दाबीवापत कम्पनीहरुले एक अर्ब १२ करोड ४९ हजार रुपैयाँ भुक्तानी दिएका छन् ।
यस अवधिमा अजोड इन्स्योरेन्सले एक हजार २९८ वटा बीमा दाबीमध्ये ८४७ बीमा दाबीको ७ करोड ९८ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
जनरल इन्स्योरेन्सले ७४२ वटा बीमा दाबीमध्ये २४९ दाबीको दुई करोड ४२ लाख रुपैयाँ, आइएमई जनरलले ७१५ वटा बीमा दाबीमध्ये ५९३ दाबीको ५ करोड ६४ लाख २० हजार रुपैयाँ, लुम्बिनी जनरलले ४७६ वटा बीमा दाबीमध्ये ३७३ वटा दाबीवापत तीन करोड ६८ लाख ५० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ११० वटा बीमा दाबीमध्ये १०३ दाबीवापत एक करोड दुई लाख रुपैयाँ, नेको इन्स्योरेन्सले एक हजार ५०५ वटा बीमा दाबीमध्ये एक हजार २५६ वटा बीमा दाबीवापत १२ करोड ४२ लाख ५० हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सले ३४५ बीमा दाबीमध्ये ३३६ वटा बीमा दाबीको तीन करोड ३१ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
यस्तै, २० निर्जीवन बीमा कम्पनीमध्ये चार वटाले भने पुरै रकम भुक्तानी गरेका छन् । २० कम्पनीहरुमध्ये हिमालयन जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले व्यक्तिगत बीमालेख अन्तर्गत बाँकी रहेको सबै रकम भुक्तानी गरेका हुन् । यस अवधिमा हिमालयन जनरलले एक हजार १४४ वटा बीमा दाबीवापत १० करोड ७३ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्सले २३७ वटा बीमा दाबीवापत दुई करोड २७ लाख २५ हजार रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ५५८ वटा बीमा दाबीवापत ५ करोड ३९ लाख ५० हजार रुपैयाँ र सगरमाथा इन्स्योरेन्सले एक हजार ५४२ वटा बीमा दाबीवापत १३ करोड ९६ लाख तीन हजार ७३६ रुपैयाँ भुक्तानी गरेका छन् ।
बाँकीले कहिले पाउलान् ?
नेपाल बीमा प्राधिकरणकाअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले उक्त बीमालेख खरिद गरेका थिए । जसमध्ये १ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको थियो । उक्त दाबीमध्ये कम्पनीहरुले ५१ हजार ६६९ वटाको भुक्तानी गरेका थिए । कम्पनीहरुले भुक्तान गरेको दाबी संख्या सरकारले १ अर्ब निकासा गर्नुअघिको हो । अर्थात उक्त संख्याको दाबी भुक्तानी दिएपछि कम्पनीहरुले आफ्नो दायित्व सकिएको भन्दै भुक्तानी प्रक्रिया रोकेका थिए ।
सरकारले आफ्नो दायित्व स्वीकार गर्दै १ अर्ब रुपैयाँ निकासा गरेपछि कम्पनीहरुले १३ हजार दाबीको दाबी भुक्तानी गर्दा अझै एक लाख वटा दाबीको भुक्तानी हुन बाँकी छ ।
नेपाल सरकार, निर्जीवन बीमक, नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीबीचको सम्झौताको आधारमा नेपालमा कोरोना बीमा योजना प्रचलनमा ल्याइएको थियो । कोरोना बीमाको दाबीवापत निर्जीवन बीमक नेपाल बीमा प्राधिकरण र नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दायीत्ववापतको रकम भुक्तानी गरिसकेका छन् । अब बाँकी रहेको रकम भुक्तानी गर्ने दायित्व सरकारको हो ।
सरकारले लामो समयपछि आफुनो दायित्व स्वीकार गर्दै एक अर्ब रुपैयाँ निकास गरेपनि बाँकी रकम निकासा नहुँदा अरु बीमितले कहिले रकम पाउने हुन् भन्ने अन्यौलता छ ।
यस्तै, सरकारले दिएको एक अर्ब रुपैयाँलाई ५५ प्रतिशत मानेर भुक्तानी गर्ने मोडालिटी बने पनि नेपाल पुनर्बीमा कम्पनीले आफ्नो दायित्व सकिएको भन्दै थप रकम उपलब्ध गराएको छैन ।
सरकारबाट थप रकम जहिले निकासा हुन्छ, सोही बमोजिम रकम वितरण गरिने संघको भनाइ छ ।
बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरु (सीइओ)हरुको छाता संगठन नेपाल बीमक संघले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेट गर्दै भुक्तानी गर्न बाँकी रहेको रकम तत्काल निकासा गर्न आग्रह गरेका छन् । संघका अध्यक्ष चंकी क्षेत्री र अन्य पदाधिकारीहरुले अर्थमन्त्री पौडेलाई गत साता भेट गरेका थिए ।
SHARE YOUR THOUGHTS