![](https://internal.appharu.com/wp-content/uploads/2023/01/surya-prasad-768x576.jpg)
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएका व्यक्तिलाई मात्रै अभिकर्ताका रुपमा छनौट गर्नुपर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणले आयोजना गरेको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले परीक्षाबाट योग्य देखिएका र बीमाप्रतिको जिम्मेवारी बोध गरेका व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रुपमा छनौट गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका हुन् ।
‘बीमाप्रति प्रतिवद्ध, दक्ष र योग्य बीमा अभिकर्ताबाट बीमा व्यवसायको गुणस्तर र बीमाप्रतिको विश्वास बढ्छ,’ अध्यक्ष सिलवालले भने,‘कम्पनी पनि सशक्त हुने भएकाले बीमा अभिकर्ता इजाजतपत्रका लागि सिफारिश गर्दा यी विषयमा गम्भीर हुनुपर्छ।’
बीमा अभिकर्ताको जिम्मा कम्पनीले लिनुपर्ने उनले बताए । एउटा बीमकको बीमा अभिकर्ताले अर्को समान किसिमको बीमकको बीमा अभिकर्ता भएर काम गर्न नपाउने कानूनी व्यवस्था रहेको समेत सिलवालले बताए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले विगतका कमी कमजोरी नदोहोरिने गरी सङ्ख्याभन्दा गुणस्तरलाई ध्यान दिएर काम गर्न तथा इजाजतपत्र नलिएकालाई बीमा अभिकर्ताका रुपमा काम नगर्न÷नगराउन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमकले बीमा अभिकर्ता छनौट गर्दा अन्य बीमा कम्पनीले आफूसँग उक्त बीमा अभिकर्ताको कुनै लेनदेन नभएको मञ्जुरीनामा दिएको वा बीमा अभिकर्ता स्वयम्ले अन्य बीमा कम्पनीमा आफ्नो कुनै लेनदेन बाँकी नरहेको कबुलियतनामा गरेको हुनपर्ने व्यवस्था रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा जीवन बीमा कम्पनीहरुका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
SHARE YOUR THOUGHTS