ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Eglish Khabarhub

ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाडौं । ग्लोबल आइएमई बैंकले १६औँ वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी रुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा स्त्री रोग विज्ञहरुले स्त्री रोग सम्बन्धी विभिन्न सेवाहरु जस्तै महिलाहरुको स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको छ ।

नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित गाँउपालिका÷नगरपालिकाको समन्वयमा सम्पन्न यस कार्यक्रमअन्तर्गत प्रदेश १ को ईलाम जिल्ला, ईलाम नगरपालिका–१, साँखेजुङ्ग स्थित वडा कार्यालय, मधेश प्रदेशको रौतहट जिल्ला, फतुवा विजयपुर नगरपालिक–७ स्थित रौतहट प्राथमिक उपचार केन्द्र, बाग्मती प्रदेशको दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–६, लापिलाङ्ग स्थित पारच्याङ स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बैंकले गण्डकी प्रदेशको बागलुङ जिल्ला, निसिखोला गाउँपालिका–३, झिवाखोला स्थित बोहोरा गाउँ स्वास्थ चौकी, लुम्बिनी प्रदेशको रोल्पा जिल्ला, रुन्टी गढी नगरपालिका, होलेरी स्थित होलेरी प्राथमिक स्वास्थ केन्द्र, कर्णाली प्रदेशको सुर्खेत जिल्ला, लेकबेसी नगरपालिका–६, कल्याण स्थित कल्याण स्वास्थ चौकी र सुदूरपश्चिम प्रदेशका डोटी जिल्ला, जोरायाल नगरपालिका–५, खहडा स्थित गडशेरा स्वास्थ चौकीमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी हुने र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैकले लिएको छ ।

बैंकले प्राथमिक स्वास्थ्य सेवाको पहुँच सीमित वा पहुँच नभएका दुर्गम स्थानहरूमा पुगी यस्ता किसिमका स्वास्थ्य शिविरहरुको आयोजना गर्ने गरेको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरुको आयोजना गरी विशेषत ग्रामीण भेगका महिला तथा आम नागरिकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

Publish on: