व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनु पर्छ: ओली « Eglish Khabarhub

व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनु पर्छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउनका लागि बाह्य लगानी भित्र्याउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि सोही अनुसारको परराष्ट्र नीति लिनुपर्ने उनको भनाइ छ ।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागले शुक्रबारबाट काठमाडौंमा शुरु गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने बताए ।

विकाका लागि अनुकुल वातावरण चाहिएको ओलीको भनाइ थियो ।

‘हामीलाई विकास निम्ति अनुकूल वातावरण चाहिएको छ । हामीलाई विकासका प्रयासहरुलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेछ । हाम्रो स्रोत साधनहरुलाई त हामी केन्द्रित गरौला, प्रयोग गरौंला । अपर्याप्त भएका ठाउँमा बाह्य सहयोग अथवा लगानी आवश्यक पर्छ । त्यो हामीले उपयुक्त ढंगले प्राप्त गर्नुछ । व्यापार धेरै असन्तुलित अवस्थामा छ । त्यो व्यापारलाई सन्तुलित अवस्थातर्फ फर्काउन ध्यान दिनुपर्नेछ’ उनले भने ।

नेपालसँग निर्यात योग्य बस्तुहरु भएकाले त्यसको उत्पादनमा जोड दिनुपर्ने बताउँदै ओलीले त्यसका लागि प्रविधिको प्रयोग बढाउनु पर्ने बताए ।

‘जे निर्यात योग्य बस्तुहरु हामीसँग छैनन् । त्यसको उत्पादनमा हामीले जोड दिनुपर्नेछ आन्तरिक रुपमा । र, त्यसमा बल पुग्ने गरी, रोजगारीको अवसर सृजना हुनेगरी, हाम्रो आफ्नो पनि प्रयास र बाह्य सहायता वा बाह्य लगानीलाई पनि रोजगारी प्रवद्र्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्ने जस्ता कुराहरुमा लगाउनुपर्नेछ । त्यसका लागि प्रविधिको प्रयोग र हस्तान्तरण गर्नु पर्नेछ । हाम्रो नीतिहरु यी कुराहरुलाई सहयोग पुग्ने खालको तनावरहित परिस्थिति रहोस् । तनावरहीत छिमेक सम्बन्ध । तनावरहीत ढंगले राष्ट्रको हितको रक्षा, तनावरहित ढंगले राष्ट्रको सुरक्षा, सीमा सुरक्षा । र, कतिपय हामीले भोगीरहेका समस्याहरु छन । सीमा समस्यालगायतका समस्याहरु । हाम्रा प्राकृतिक स्रोतहरुको राष्ट्रिय प्राथमिकतामा प्रयोग गर्नुपर्ने कुराहरु । यी कुराहरुलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति संचालन गर्नुपर्नेछ’ओलीले भने ।

Publish on: