बैंकर्स संघका अध्यक्ष भन्छन्- ब्याज तिर्दैनौं भनेर सडक आन्दोलन गर्नु राम्रो भएन « Eglish Khabarhub

बैंकर्स संघका अध्यक्ष भन्छन्- ब्याज तिर्दैनौं भनेर सडक आन्दोलन गर्नु राम्रो भएन



बैंकर्स संघका अध्यक्ष सुनिल केसी (बाँया ) र उपाध्यक्ष सन्ताेष काेइराला

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याज तिर्दैनौं भनेर सडक आन्दोलन गर्न उचित नभएको बताएका छन् ।
मंगलबार बैंकर्स संघको कार्यालयमा आर्थिक पत्रकारसँग गरिएको अन्तरक्रियामा केसीले ब्याजदर घटाउन माग गर्दै सडक आन्दोलन गर्नु तर्कपूर्ण काम नभएको बताए ।

‘बजारमा तरलता केही सहज हुनुको साथैं मँहगीवृद्धि दर केही कम हुँदा बैंकर्ससंघले निक्षेपमा १० प्रतिशतले ब्याजदर घटाउने निर्णय गरिसकेको छ,’ केसीले भने, ‘राष्ट्र बैंकको नियमअनुसार अहिले निक्षेपमा ब्याज घटाउँदा आगामी बैशाखदेखी मात्रै कर्जाको ब्याज घटाउन मिल्छ । त्यसैले अहिले नै ऋणको ब्याजदर घट्ने सम्भावना छैन ।’

ब्यवसायीले आन्दोलन गरेर वा दबाब दिएर बैंकले ब्याजदर कम गर्ने सक्ने अवस्था नरहेको केसी दाबी गर्छन् ।

‘विगतमा बैंकले निक्षेपमा कम ब्याज दिएर ऋणीसँग धेरै ब्याज लिएको पनि थिए होलान् ।

जसले गर्दा बैंकको नाफा पनि धेरै थियो,’ केसीले भने, ‘१० वर्ष अगाडी औषतमा बाणिज्य बैंकको आरओइ (रिटर्न अन इक्यूटी) २४.४ प्रतिशत थियो । गत वर्ष भने आरओइ ११.७३ प्रतिशतमात्रै छ । त्यसैले बैंकले धेरै नाफा कमाइरहेका छन् भन्ने प्रचार ठिक छैन ।’

पूँजी लगानीको अनुपातमा पछिल्लो समय वाणिज्य बैंकको नाफा घटिरहेकाले बैंकले दिने लाभाशंसमेत घटिरहेको केसी बताउँछन् ।

चालू आर्थिक वर्षको ६ महिनामा बैंकको नाफा गत वर्ष बराबर हुने केसीको अनुमान छ ।

‘बैंक पारदर्शी व्यवसाय गरेर आफैंले मात्रै कमाएका छैन, प्रत्येक वर्ष सरकारलाई समेत अर्बौं रुपैयाँ कर समेत तिरेका छन्,’ केसीले गुनासो गरे,‘तर, बैंकरले आफूले गरेको योगदान अनुसार समाजबाट सम्मान पाउन सकेका छैनन् ।’

बैंकहरु कर्जा लगानी गर्दा विगतमा गल्ती गरेको स्वीकार गर्दै केसी आगामी दिनमा बास्तबिक अर्थतन्त्रलाई सहयोग गर्ने गरी कर्जा प्रवाह गर्नु पर्ने बताउँछन् ।

कार्यक्रममा बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेपनि बैंकको अवस्था कमजोर नभएको बताए ।

‘समग्र वित्तीय प्रणाली नै कमजोर भयो भने बैंक पनि प्रणालीगत जोखिममा पर्न सक्छन्, ’कोइरालाले भने, ‘तर, हामी जोखीम कम कसरी गर्न सकिन्छ भनेर लागि रहेका छौं ।’

पछिल्लो समय विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा, शोधानान्तर स्थिती बढ्दो क्रममा, रेमिट्यान्स आप्रवाह बढ्दो क्रममा रहेकाले चालू आर्थिक वर्षको अन्त्यसम्ममा बैंक तथा वित्तीय संस्थामा ५ खर्ब बराबर निक्षेप संकलन हुने केसीको आंकलन छ ।

राष्ट्र बैंकले चालू आर्थिक वर्षमा १२ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएपनि तत्काल उक्त लक्ष्य पुरा गर्न भने कठिन हुने केसी बताउँछन्।

‘हामी आजको तथ्यांकका आधारमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छौं,’ केसीले भने, ‘आगामी दिनमा आर्थिक परिसुचक बिग्रीयो भने बैंकर्स संघले गर्ने निर्णय पनि फरक हुन्छ । अहिलेको समग्र अवस्था हेर्दा क्रममा अर्थतन्त्र स्थिर हुँदै जाने देखिन्छ ।’

Publish on: