
काठमाडौं । वाणिज्य बैंकको सम्पत्तिमा एक वर्षमा १४ प्रतिशतले बढोत्तरी भएको छ ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार असार मसान्तसम्ममा २३ वाणिज्य बैंकको सम्पत्ति १४ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको असारसम्म ४४ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ रहेको वाणिज्य बैंकको सम्पत्ति गत वर्षको असारसम्ममा बढेर ५० खर्ब ४४ अर्ब ९२ करोड नाघेको छ ।
वित्तीय विवरणअनुसार सबैभन्दा धनी बैंक नबिल देखिएको छ भने कम धनीमा सिभिल बैंक रहेको छ । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा नबिल बैंकको सम्पत्ति ४४ प्रतिशतले बढेर ४ खर्ब १९ अर्ब ८१ करोड पुगेको छ।
अघिल्लो आवको सोही अवधिमा बैंकको सम्पत्ति २ खर्ब ९१ अर्ब २३ करोड ८९ लाख ४६ हजार ४२२ रुपैयाँ थियो ।
त्यस्तै सिभिल बैंकको सम्पत्ति ७ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब ५८ करोड पुगेको छ । अघिल्लो आवको सोही अवधिमा सो बैंकको सम्पत्ति १ खर्ब ९ अर्ब ९६ करोड थियो ।
सर्वाधिक धनी बन्ने दौडमा ग्लोबल आइएमई र एनआईसी एसिया बैंक नबिलको पछि–पछि छन् । यी दुवै बैंकको सम्पत्ति ४–४ प्रतिशतले बढेको छ । दुवै बैंकको सम्पत्ति ४–४ प्रतिशतले बढे पनि दोस्रो स्थानमा ग्लोबल आइएमई र तेस्रोमा एनआईसी एसिया छ ।
ग्लोबल बैंकको कुल सम्पत्ति ३ खर्ब ६० अर्ब ५३ करोड छ । अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ४५ अर्ब ४२ करोड रुपैयाँ थियो ।
यस्तै एनआईसी एसियाको सम्पत्ति ३ खर्ब ५८ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ । अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ४६ अर्ब १४ करोड थियो ।
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सिद्वार्थ बैंकको सम्पत्ति १५ प्रतिशतले बढेर २ खर्ब ६४ अर्ब ३५ करोड पुगेको छ भने नेपाल बैंकको १७ प्रतिशतले बढेर २ खर्ब ६० अर्ब ७ करोड पुगेको छ ।
त्यस्तै एनएमबी बैंंकको १० प्रतिशतले बढेर २ खर्ब ५५ अर्ब, नेपाल इन्भेस्टमेन्ट बैंकको ७ प्रतिशतले बढेर २ खर्ब ४४ अर्ब, प्रभु बैंकको ११ प्रतिशतले बढेर २ खर्ब ३२ अर्ब र एभरेस्ट बैंकको सम्पत्ति ६ प्रतिशतले बढेर २ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ ।
असार मसान्तसम्मको विवरणअनुसार मेगा बैंकको सम्पत्ति २३ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब, हिमालयन बैंकको २१ प्रतिशतले बढेर २ खर्ब १६ अर्ब, कुमारी बैंकको १२ प्रतिशतले बढेर २ खर्ब १२ अर्ब र प्राइम बैंकको १० प्रतिशतले बढेर २ अर्ब १० अर्ब पुगेको छ ।
यस्तै सिटिजन्स बैंकले १५ प्रतिशतले सम्पत्ति बढाएर १ खर्ब ९४ अर्ब, सानिमा बैंकले २० प्रतिशतले बढाएर १ खर्ब ९२ अर्ब, माछापुच्छ्रे बैंकले १३ प्रतिशतले बढाएर १ खर्ब ७८ अर्ब, लक्ष्मी बैंकले १४ प्रतिशतले बढाएर १ खर्ब ७३ अर्ब, एनसीसी बैंकले २४ प्रतिशतले बढाएर १ खर्ब ६७ अर्ब, नेपाल एसबीआई बैंकले ११ प्रतिशतले बढाएर १ खर्ब ५३ अर्ब रुपैयाँ पुर्याएका छन् ।
बैंक अफ काठमाण्डूको ७ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब र सेन्चुरी बैंकको पनि ८ प्रतिशतले नै बढेर १ खर्ब २० अर्ब नाघेको छ ।
असार मसान्तसम्मको यो तथ्यांकमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र सनराइन बैंकको विवरण समावेश छैन । त्यस्तै, असारपछि ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू तथा प्रभु र सेन्चुरी बैंक मर्ज भइसकेका छन् । सिभिल र हिमालयन बैंक पनि मर्ज भएर एकीकृत कारोबारको तयारीमा छन् । दुवै बैंकले फागुन १२ बाट एकीकृत कारोबार गर्नेछन् ।
सम्पत्तिमा के हुन्छ गणना ?
बैंकको सम्पत्ति गणना गर्दा हरेक बैंकमा भएको नगद तथा नगद सामान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, व्युत्पन्न (डेरिभेटिभ) वित्तीय उपकरण, अन्य व्यापारिक सम्पत्ति, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, चालू कर सम्पत्ति, सहायक कम्पनीमा लगानी, सम्बद्ध कम्पनीमा लगानी, लगानी सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति र अन्य सम्पत्तिलाई लिने गरिन्छ ।

SHARE YOUR THOUGHTS