चिनियाँ ऋणकै कारण पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको हो ? « Eglish Khabarhub

चिनियाँ ऋणकै कारण पाकिस्तानमा आर्थिक संकट बढ्दै गएको हो ?


१६ फाल्गुन २०७९, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पाकिस्तानका केन्द्रीय वित्तमन्त्री इसहाक डारले चीनले ७० करोड अमेरिकी डलर ऋण दिने घोषणा गरेको सार्वजनिक गर्दै यसले पाकिस्तानको कम भइरहेको विदेशी मुद्रा भण्डारणमा केही राहत दिने बताएका छन् ।

तर, चीन र चिनियाँ बैंकबाट प्राप्त भइरहेको ऋणले भने अर्को प्रतिकूल असर पनि सिर्जना गरेको छ । नयाँ ऋणसहित पाकिस्तानको कुल ऋणको एक तिहाई भाग चीनबाट प्राप्त भएको छ । यसले पाकिस्तान चीनमाथि बढी निर्भर भएको पनि देखाएको छ ।

पाकिस्तानले हाल अन्तर्राष्ट्रिय स्तरबाट लिएको ऋणमध्ये चीन र चीनका वाणिज्य बैंकबाट लिएको ऋणमा निकै वृद्धि भइरहेको छ । पछिल्लो ८ वर्षमा यो ऋण निरन्तर बढिरहेको छ ।

यस्तोमा पाकिस्तानको वर्तमान आर्थिक अवस्थाको एउटा ठूलो कारण विदेशी ऋण पनि भएको बताइएको छ, जसका कारण त्यहाँको वैदेशिक मुद्रा भण्डारणमा निकै कमी आएको छ । अर्कातिर आगामी दुई आर्थिक वर्षभित्रमा पाकिस्तानले अधिकांश विदेशी ऋण तिर्नुपर्नेछ । यसले पनि पाकिस्तानको अर्थतन्त्रमाथि थप दबाब सिर्जना गरेको छ ।

चालू आर्थिक वर्षको बाँकी समयमा पाकिस्तानले ८ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्नुपर्नेछ । योभन्दा पनि ठूलो चुनौती आगामी दुई वर्षमा छ । आगामी दुई आर्थिक वर्षमा पाकिस्तानले ५० अर्ब अमेरिकी डलर रकम विदेशी ऋण तिर्नुपर्नेछ । यसमा त्यो ऋण पनि सामेल छ, जुन चीन र चीनका वाणिज्य बैंकलाई तिर्नुपर्नेछ ।

पाकिस्तानका अर्थविद्हरुका अनुसार चीन र त्यहाँबाट पाकिस्तानलाई प्राप्त भएको ऋणमा चीनले गरिदिएको सहजताले पाकिस्तानको आर्थिक अवस्थामाथिको जोखिमलाई केही कम गर्न सक्नेछ । तर, यससँगै अन्य देश र अन्तर्राष्ट्रिय आर्थिक संघ-संस्थाबाट प्राप्त भएको ऋणको समयलाई पनि लम्ब्याउन आवश्यक छ ।

चालू शताब्दीको पहिलो दशकमा पेरिस क्लबका सदस्य देशहरुले दिएको ऋणको अनुपात पाकिस्तानको कुल ऋणको एउटा ठूलो हिस्सा थियो । तर, पछिल्लो सातदेखि आठ वर्षमा यो ऋणको अनुपातमा चीन शीर्ष स्थानमा छ । पाकिस्तानले पछिल्लो दशकमा सबैभन्दा धेरै ऋण चीनबाट लिएको छ । यससँगै पाकिस्तानले चीनका बैंकहरुबाट लिएको ऋणमा पनि ठूलो वृद्धि भएको हो ।

अर्थशास्त्रीहरुका अनुसार पाकिस्तानमा चीनको कर्जा बढ्नुको कारण पाकिस्तान–चीन आर्थिक करिडोर (सीपीईसी) मुख्य कारण हो । सीपीईसीमार्फत ऊर्जा र अन्य परियोजनामा कर्जाको रुपमा चीनले लगानी गरेको छ । यसबाहेक विदेशी मुद्राको भण्डारण बढाउन पनि पाकिस्तानलाई चीनका वाणिज्य बैंकहरुले पनि ठूलो मात्रामा ऋण दिएका छन् ।

यसको ताजा उदाहरण चाइना डेभलपमेन्ट बैंक हो, जसबाट पाकिस्तानलाई ७० करोड अमेरिकी डलर ऋण प्राप्त भएको छ । त्यसपछि पाकिस्तानका वित्तमन्त्री डारले विदेशी मुद्राको भण्डारण बढाउन यसले सहयोग पुग्ने बताएका थिए ।

तर, अहिले चीनबाट प्राप्त भएको कर्जा नै पाकिस्तानको आर्थिक अवस्थाको मुख्य कारण भएको बताइएको छ । चीनमाथि पाकिस्तान बढी निर्भर हुनुले नै पाकिस्तानलाई भविष्यमा थप अफ्ठ्यारोमा पार्ने जोखिम थपिएको तर्कहरु पनि अघि आएका छन् ।

तर, यो विषयमा पाकिस्तानको वित्त मन्त्रालय वा अन्य अधिकारीले भने कुनै जवाफ दिएका छैनन् । वित्तमन्त्री डार, वित्त राज्यमन्त्री डा. आयशा गौस पाशा र वित्त मन्त्रालयका प्रवक्ताले यो विषयमा कुनै पनि जवाफ दिएका छैनन् ।

पाकिस्तानको कुल विदेशी ऋण अहिले ९७ अर्ब अमेरिकी डलरभन्दा धेरै छ, जसमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरु, विभिन्न देश, विदेशी वाणिज्य बैंकलगायतको ऋण छ । स्टेट बैंक अफ पाकिस्तानका अनुसार यो कर्जामा पेरिस क्लब, आईएमएफ, वर्ल्ड बैंक, एसियन डेभलपमेन्ट बैंक र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाको ऋण छ ।

पछिल्लो ७ वर्षलाई हेर्दा पाकिस्तानमा सन् २०१५ मा विदेशी ऋण कुल गार्हस्थ्य उत्पादनको २४ प्रतिशत थियो । सन् २०२२ मा बढेर ४० प्रतिशत पुगेको छ ।

पाकिस्तान सरकार र केन्द्रीय बैंकको रिपोर्टमा ऋणलाई दुई भागमा विभाजन गरिएको छ । पेरिस क्लब र ननपेरिस क्लब देशहरुको रुपमा ऋणलाई उल्लेख गरेर विभाजन गरिएको छ । यो ऋणलाई लिएर कुनै पनि देशको नाम भने उल्लेख गरिएको छैन ।

तर, आईएमएफको पछिल्लो समीक्षा मिसनपछि पेस भएको रिपोर्टमा भने पाकिस्तानको कुल ऋणमध्ये चीनको भाग ३० प्रतिशत रहेको देखिएको थियो । पाकिस्तानले लिएको कुल ऋणमध्ये ३० प्रतिशत चीन र चीनका वाणिज्य बैंकहरुबाट मात्रै छ ।

आईएमएफका अनुसार चीन सरकारले अहिलेसम्म पाकिस्तानलाई २३ अर्ब अमेरिकी डलर ऋण दिएको छ भने चीनका वाणिज्य बैंकहरुले करिब ७ अर्ब डलर ऋण दिएका छन् ।

अर्थशास्त्री अम्मार हबिब खानका अनुसार चीनका वाणिज्य बैंकले दिएको ऋण पनि चीन सरकारले नै पाकिस्तानलाई उपलब्ध गराएको कर्जा भएको बताउँछन् । उनी यसलाई चीनका वाणिज्य बैंकहरु सरकारकै अन्तर्गत रहेकाले पाकिस्तानलाई दिएको कर्जालाई पनि चीन सरकारले नै दिएको रुपमा लिनुपर्ने बताउँछन् ।

पछिल्लो आर्थिक वर्षमा पाकिस्तानले तिरेको ऋणको तथ्यांक हेर्ने हो भने त्यहाँ पनि चीन सरकार र चीनका वाणिज्य बैंकहरु शीर्ष स्थानमा देखिन्छन् । पाकिस्तानले गत वर्ष चीन र चीनका वाणिज्य बैंकहरुलाई सबैभन्दा धेरै साँवा-ब्याज तिरेको छ ।

पाकिस्तानको सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साउदी अरबको तुलनामा चीनलाई चुक्ता गरिएको ऋणको रकम र ब्याज ५० करोड अमेरिकी डलरभन्दा धेरै छ । चीनको तुलनामा पाकिस्तानले साउदी अरब, जापान, कुवेत र फ्रान्सजस्ता देशहरुलाई चुक्ता गरेको कर्जाको रकम निकै कम छ ।

त्यस्तै, विदेशी वाणिज्य बैंकहरुलाई तिरिएको ऋणको विवरण हेर्दा पनि पाकिस्तानले सबैभन्दा धेरै चीनमा रहेका वाणिज्य बैंकहरुलाई नै ऋण तिरेको देखिन्छ ।

पछिल्लो ७ देखि ८ वर्षको अवधिमा पाकिस्तानको कुल विदेशी कर्जामा चीनको ऋणमा भएको वृद्धिबारे पाकिस्तानका पूर्व वित्तमन्त्री डा. हफिज पाशा चीनले तीन किसिमको कर्जा दिएको बताउँछन् । चीनको एउटा कर्जा सीपीईसी परियोजना अन्तर्गतबाट दिइएको छ । अर्को किसिमको कर्जा चीनका वाणिज्य बैंकहरुले दिएका छन् । त्यस्तै, तेस्रो किसिमको कर्जा पाकिस्तानको केन्द्रीय बैंकमा राखिएको विदेशी मुद्रा हो ।

जेएस रिचर्समा आर्थिक विषयका जानकार रहेका अमरिन सोरानीका अनुसार पाकिस्तानको कुल कर्जामा चीनको भागमा भएको वृद्धिको कारण एउटा सीपीईसी परियोजना हो भने अर्को चीनले पाकिस्तानको केन्द्रीय बैंकका लागि दिएको विदेशी मुद्रा हो ।

आर्थिक विषयका जानकार वरिष्ठ पत्रकार शहबाज राणाका अनुसार सीपीईसीका विभिन्न उद्देश्यमा चीन र त्यहाँका वाणिज्य बैंकमार्फत पाकिस्तानलाई ऋण दिइएको छ । तर, त्यो कर्जा अहिले पाकिस्तानका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ ।

सीपीईसी अन्तर्गतबाट ऊर्जा क्षेत्रमा स्वतन्त्र ऊर्जा उत्पादक (ईपीआर)का लागि चीनले कर्जा दिएको छ । तर, यो कर्जालाई पाकिस्तानको कुल कर्जामा जोडिएको छैन । त्यसबाहेक पूर्वाधारसम्बन्धी सिखर मुल्तान मोटरवे, थाकोट मोटरवेजस्ता परियोजनालाई पनि कर्जा दिइएको छ ।

चीनको ऋण चुक्ता गर्नमा भइरहेको असहजताबारे शहबाज राणा सबैभन्दा चुनौती नै यही रहेको बताउँछन् । जब कर्जा चुक्ता गर्ने कुरा आउँदा, तब समस्या मुख्य रुपमा त्यो चीनले दिएको कर्जा बनेको छ । चीनले आफ्नो विदेशी मुद्रा कोषलाई सुधार्न चीनबाट लिएको ऋण अहिले सबैभन्दा ठूलो चुनौती बनेको राणा बताउँछन् ।

उनका अनुसार चीनले दिएको कर्जा तिर्ने समय डेढदेखि दुई वर्षको हुन्छ । यस्तो हुँदा कर्जा चुक्ता गर्ने समय निकै छिटो आउँछ । पाकिस्तानजस्तो विदेशी मुद्रा भण्डारणमा संकुचन भोगिरहेको देशका लागि यस्तो छोटो समयमा नै करौडौं डलरको विदेशी ऋण चुक्ता गर्नु चुनौती बनिरहेको छ ।

अर्कातिर, पेरिस क्लबबाट प्राप्त भएको ऋण तिर्ने समय धेरै हुन्छ । कम्तीमा १५ देखि २० वर्ष हुँदै २५ देखि ३० वर्षसम्म यो ऋण तिर्ने समय दिइएको हुन्छ । तर, चीनबाट प्राप्त रहेको ऋण भने अग्रिम नै तिर्नुपर्ने भएकाले पाकिस्तानको बिग्रँदो आर्थिक अवस्थालाई यसले थप चुनौती दिइरहेको छ ।

पाकिस्तानले अहिले विदेशी मुद्राको कमी र अत्यधिक महँगीका साथै आर्थिक संकट भोगिरहेको छ । यसबीच पनि पाकिस्तानले चीनबाट लिइएको ऋण तिर्नुपर्छ । जसले गर्दा पाकिस्तानको विदेशी मुद्रा भण्डारणमा थप दबाब पर्ने अवस्था सिर्जना भएको छ ।

अर्थशास्त्रीहरुका अनुसार यो ऋण फिर्ता गर्नुपर्दा पाकिस्तानको अवस्था थप नाजुक हुँदै जाने जोखिम छ ।

(बिबिसीबाट)

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलबार ००:००  ४ : २६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping