१५४ देशसँग नेपालको वैदेशिक व्यापार, ३३ देशसँग मात्रै नाफा « Eglish Khabarhub

१५४ देशसँग नेपालको वैदेशिक व्यापार, ३३ देशसँग मात्रै नाफा



काठमाडौं । नेपालले चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा १५४ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । नेपालले साउनदेखि माघ समान्तसम्ममा विश्वका १५४ वटा देशसँग वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्याङ्क छ ।

नेपालले विश्वका १५४ वटा देशसँग वैदेशिक व्यापार गर्दा अधिकांश देशसँगको व्यापारघाटा चुलिँदो अवस्थामा छ । त्यस्तै, निकै कम देशसँग मात्रै नेपालको व्यापार नाफामा छ ।

विभागको तथ्याङ्कअनुसार नेपालले १५४ वटा देशसँग वैदेशिक व्यापार गर्दा ३३ वटा देशसँग मात्रै नाफा कमाएको देखिन्छ । त्यसबाहेक अन्य देशसँग नेपालको व्यापारघाटा चुलिँदो अवस्थामा छ ।

चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले सबैभन्दा बढी डेनमार्कबाट नाफा कमाएको छ । नेपालले डेनमार्कसँग ७९ करोड ८६ लाख २७ हजार रुपैयाँको वैदेशिक व्यापार गरेकोमा ३९ करोड ५ लाख ६२ हजार नाफा कमाएको छ ।

सो अवधिमा डेनमार्कबाट २० करोड ४० लाख ३३ हजार रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट ५९ करोड ४५ लाख ९५ हजार रुपैयाँको वस्तु निर्यात गरेको तथ्यांक छ ।

त्यस्तै अमेरिकासँगको वैदेशिक व्यापार पनि सकारात्मक छ । नेपालले अमेरिकासँग २१ अर्ब ३८ करोड ५२ लाख ९३ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको देखिन्छ ।

त्यसमा नेपालले ७ महिनाको अवधिमा १० अर्ब ७३ करोड ६४ लाख ५८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । साथै, अमेरिकाबाट १० अर्ब ६४ करोड ८८ लाख ३५ हजार रुपैयाँको वस्तु आयात गरेको छ । जसमा नेपालले ८ करोड ७६ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ ।

अल्जेरियाबाट भने नेपालले कुनै वस्तु आयात गरेको छैन । तर, नेपालबाट भने ७ करोड ३० लाख ३४ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

त्यसबाहेक कोम्बाडियासँग गरेको व्यापारबाट ६ करोड ९२ लाख ९६ हजार रुपैयाँ, नर्वेबाट ५ करोड ९१ लाख ४८ हजार रुपैयाँ, रोमनियाबाट ४ करोड ४८ लाख ५० हजार, चाडबाट ४ करोड १२ लाख ७० हजार रुपैयाँ र उरुग्वेबाट ४ अर्ब ११ लाख ९६ हजार रुपैयाँ नेपालले नाफा कमाएको छ । अन्य बाँकी देशहरुसँग भने नेपालले गरेको वैदेशिक व्यापारबाट ९ हजारदेखि डेढ करोड रुपैयाँसम्म मात्रै नाफा कमाएको छ ।

भारतसँग मात्रै ५ खर्बको व्यापारघाटा

नेपालको वैदेशिक व्यापारमा करिब ६५ प्रतिशत हिस्सा ओगटेको भारतसँग ७ महिनाको अवधिमै ५ खर्ब बढी व्यापारघाटा व्यहोरेको छ ।

विभागअनुसार नेपालले ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँको वस्तु आयात गर्दा नेपालबाट ६६ अर्ब २२ करोड ६५ लाख ७२ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

निर्यात अवस्था कमजोर हुँदा ७ महिनाको अवधिमा मात्रै नेपालले ५ खर्ब ४ अब ३१ करोड ३० हजार रुपैयाँको व्यापारघाटा व्यहोरेको छ ।

भारतपछि चीनसँग नेपालले ७ महिनाको अवधिमा १ खर्ब २४ अर्ब ६२ करोड ९८ लाख १८ हजार रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

साथै, इन्डोनेसियासँग २६ अर्ब ६२ करोड ५५ लाख ३८ हजार रुपैयाँ, युनाइटेड अरब इमिरेट्ससँग २ अर्ब ४५ लाख २९ हजार रुपैयाँ, अर्जेन्टिनासँग १८ अर्ब ५६ करोड ४९ लाख ९८ हजार रुपैयाँ, मलेसियासँग १४ अर्ब १५ करोड ७५ लाख रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको छ ।

युक्रेनसँग १० अर्ब ३ करोड ८४ लाख ८७ हजार रुपैयाँ, कतारसँग ९ अर्ब ७५ करोड ९९ लाख ४९ हजार रुपैयाँ, अस्ट्रेलियासँग ९ अर्ब १ करोड ७० लाख ४७ हजार रुपैयाँ र ओमनसँग ८ अर्ब ९२ करोड ७० लाख ५५ हजार रुपैयाँ नेपालले व्यापारघाटा व्यहोरेको छ ।

१५१ देश बाहेकका १ लाखभन्दा कम व्यापार गर्ने देशलाई तीन समूहमा सूचीकृत गरिएको छ ।

Publish on: