दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो « Eglish Khabarhub

दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो



काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँबाट वृद्धि गरेर ६५.५ रुपैयाँ बनाउने निर्णय गरेको हो ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको जनाइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सरकारले दूधको मूल्य बढाएको हो ।

बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवका अनुसार विभिन्न कारण दूध उत्पादन लागत मूल्य बढेकाले किसानको हितलाई ध्यानमा राखेर मूल्य बढाउन प्रस्ताव गरिएको थियो ।

२०७४ सालदेखि हरेक २-२ वर्षमा दूधको मूल्य बढाउने प्रणाली बनाइएको भए पनि यसपटक किसानको लागत धेरै बढेको पाइएकाले १ वर्षमै बढाउन प्रस्ताव गरिएको उनले बताए ।

यसअघि २०६७/६८ देखि २०७८ सम्मको १० वर्षमा ७ पटक दूधको मूल्य बढाइएको छ । २०६७/६८ मा किसानले प्रतिलिटर दूधको मूल्य ३४ रुपैयाँ ६८ पैसा र उद्योगीले ४८ रुपैयाँ पाउने गरी बढाइएको थियो ।

गत वर्ष माघ २८ गते सातौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ५६ रुपैयाँ ४ पैसा पुगेको थियो भने उपभोक्ताले तिर्ने मूल्य ८६ रुपैयाँ पुगेको थियो । १० वर्षमा किसानले पाउने मूल्य ६१ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने ७९ प्रतिशतले बढेको थियो ।

यसपटक किसानका लागि कम्तीमा ७ रुपैयाँ र बढीमा १० रुपैयाँ बढाउन प्रस्ताव गरिएकोमा सरकारले ९ रुपैयाँ १ पैसा बढाएको छ । ‘हामीले कम्तीमा किसानले प्रतिलिटर ६३ रुपैयाँ ४ पैसा पाउने गरी मूल्य बढाउन प्रस्ताव गरेका थियौं,’ बोर्डका कार्यकारी निर्देशक यादवले भने ।

बोर्डले हालै गरेको अध्ययनले किसानको दूध उत्पादन लागत प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पाइएको थियो । ‘हामीले आफैं फिल्डमा गएर पनि अध्ययन गर्‍यौँ, स्वतन्त्र रुपमा पनि अध्ययन गरायौं,’ उनले भने, ‘त्यसै आधारमा मूल्य बढाउन प्रस्ताव गरेका थियौं ।’

विश्वव्यापी महामारी कोभिड-१९ का कारण दूध उत्पादन लागत ११.५३ प्रतिशतले बढेको उनले बताए ।

२४ लाख ८० हजार टन दूध उत्पादन

अहिले देशभर वार्षिक करिब २५ लाख टन दूध उत्पादन भइरहेको छ । गत वर्ष २४ लाख ८० हजार टन दूध उत्पादन भएको बोर्डको तथ्यांकमा उल्लेख छ ।

उत्पादितमध्ये १७ प्रतिशत औपचारिक र ३३ प्रतिशत अनौपचारिक क्षेत्रबाट कारोबार हुने गरेको बोर्डले जनाएको छ । बाँकी ५० प्रतिशत घरेलु प्रयोजन र घर-घरबाटै छिमेकीकहाँ खपत देखिएको छ ।

‘हामी दूधमा करिब आत्मनिर्भर छौं,’ उनले भने, ‘यस्तो अवस्थामा सरकारले दुग्ध उत्पादन किसानको पक्षमा निर्णय गर्नैपर्छ ।’

दानाको मूल्यमा मनपरी वृद्धि

सरकारले लागत अध्ययन गरेर समय-समयमा दूधको समर्थन मूल्य तोक्ने गरेको छ । तर, दूधको मूल्यवृद्धिको लाभ किसानसम्म पुग्न नपाउँदै पशुका लागि दानाको मूल्य अनियन्त्रित ढंगले बढाइने गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दानाको मनपरी मूल्यवृद्धि नियन्त्रणका लागि कुनै पहलकदमी नलिँदा दूधको मूल्य बढेको खबर पाउनासाथ व्यापारीले दानाको मूल्य बढाउने गरेका छन् ।

भक्तपुरमा कृष्ण प्रणामी डेरी एन्ड कृषि फार्म स्थापना गरेर गाईपालन गर्दै आएकी गोपी अम्गाईं चोकर, दाना, मकैको पिठो र भुसाको मूल्य ३ वर्षमा दोब्बरले बढेको बताउँछिन् ।

उनका अनुसार एक बोरा (४० किलो) चोकरलाई ३ वर्षअघि १२ सय रुपैयाँ पर्थ्यो भने अहिले २४ सय रुपैयाँ पर्छ । त्यस्तै ५० किलोको एक बोरा दानाको मूल्य यो अवधिमा ११ सय रुपैयाँबाट बढेर २४ सय रुपैयाँ पुगिसकेको छ ।

मकैको पिठोको पनि ५० किलोको बोरालाई ३ वर्षअघि १५ सय रुपैयाँ पर्थ्यो । अहिले २५ सय पर्छ । त्यस्तै ८ रुपैयाँ प्रतिकिलो पर्ने भुसालाई अहिले १९ रुपैयाँ तिर्नुपर्छ ।

उनका फार्ममा २० वटा गाई छन् भने दैनिक १३० लिटर दूध बेच्दै आएकी छन् ।

११ वर्षमा किसानलाई ८७ र उद्योगीलाई शतप्रतिशत वृद्धि

सरकारले २०६७/६८ देखि २०७९ फागुनसम्मको ११ वर्षमा ८ पटक दूधको मूल्य बढाएको छ । २०६७/६८ मा किसानले प्रतिलिटर दूधको मूल्य ३४ रुपैयाँ ६८ पैसा र उद्योगीले ४८ रुपैयाँ पाउने गरी बढाइएको थियो ।

आज आठौं पटक दूधको मूल्य बढ्दा किसानले पाउने मूल्य ६५‍ रुपैयाँ ५ पैसा पुगेको छ भने उपभोक्ताले तिर्ने मूल्य ९६ रुपैयाँ पुगेको छ ।

१० वर्षमा किसानले पाउने मूल्य ८७ प्रतिशतले बढ्दा उद्योगीले पाउने मूल्य भने शतप्रतिशत बढेको छ ।

Publish on: