काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीमाझ लोकप्रिय बन्न सस्ता र मिठा कुरा नगर्न व्यवसायीलाई आग्रह गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको ६४औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा शुक्रबार वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका नेतृत्वमा रहेका व्यक्तिले व्यवसायीमाझ लोकप्रिय बन्ने होडबाजीमा सस्ता-मिठा कुरा नगरी जिम्मेवार भएर कुरा उठाउन आग्रह गरेका हुन् ।
‘हामी निजी क्षेत्रको नेतृत्वमा रहेका व्यक्तिले सस्तो लोकप्रियताका लागि व्यवसायीमाझ गैरजिम्मेवार भएर जथाभावी बोल्नु हुँदैन । पपुलर हुनकै लागि बैंकको ऋण र ब्याज तिर्दिन भन्ने कुरा गर्नु हुँदैन । बैंकमा भएको निक्षेप पनि जनताको हो । हामी व्यवसायीले यस्तो गैरजिम्मेवार कुरा बोल्नु हुँदैन,’ उनले भने ।
उनले केही व्यवसायी साथीहरुले महासंघको निर्वाचनलाई लक्षित गरी पपुलर कुरा गर्ने गरेको बताउँदै नेतृत्वमा पुग्ने व्यक्ति जवाफदेही र जिम्मेवार पनि हुनुपर्ने बताए ।
कोभिड महामारीका कारण मुलुकको मात्र नभई विश्व अर्थतन्त्रमा नै समस्या देखिएको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले यसमा विस्तारै सुधार देखिन थालेको टिप्पणी गरे । ‘कोभिड महामारी र त्यसपछिको समयमा नेपालमा मात्र होइन, विश्व अर्थतन्त्रमा नै समस्या देखिएको थियो । त्यसैको प्रभाव स्वरुप नेपालको बैंकिङ क्षेत्रमा तरलता अभाव सुरु भयो र बैंकको कर्जाको व्याज दर बढ्न गयो । तर, अहिले हाम्रो अर्थतन्त्रका केही इन्डिकेटरहरु सकारात्मक हुन थालेको संकेत देखिएका छन् । त्यसैले म व्यवसायी साथीहरुलाई आत्तिने र हडबडाउने नगर्न पनि आग्रह गर्न चाहन्छु,” उनले भने ।
SHARE YOUR THOUGHTS