बैंकिङ क्षेत्रमा अराजक गतिविधिमा संलग्नमाथि तत्काल कारबाही होस्: सिबिफिन « Eglish Khabarhub

बैंकिङ क्षेत्रमा अराजक गतिविधिमा संलग्नमाथि तत्काल कारबाही होस्: सिबिफिन



काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ सेवा क्षेत्रमाथि भएका अराजक गतिविधिमा संलग्नमाथि तत्काल कारबाहीको माग गरेको छ।

सिबिफिनले मंगलबार विज्ञप्ति जारी गर्दै ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुलाई मात्रै निशाना बनाएर ब्याज मात्र होइन, साँवा समेत नतिर्ने धम्कीसहित विभिन्न स्थानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि आक्रमण तथा लुटपाटका घटना भइरहेको भन्दै सिविफिनले नियोजित घटनाले बैंकिङ क्षेत्र त्रसित बनेको उल्लेख गरेको छ ।

बैंकिङ जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि भएका उछृंखल, अव्यवहारिक, अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका लागि कडा निर्देशन जारी गर्दै कानुन हातमा लिएर आफ्ना अभिष्ट पूरा गर्न खोज्नेहरुलाई तत्काल कठघरामा उभ्याइ आवश्यक कारवाही गर्न सरकार तथा मातहतका निकायहरुको ध्यानाकर्षण गराएको छ ।

देशको अर्थव्यवस्था नै धरासायी बनाउने गरी रचिएका अवाञ्छित क्रियाकलापहरु यसरी नै अगाडि बढ्ने हो भने भोलि स्वयं राज्य र आम जनताले व्यहोर्नुपर्ने क्षति आंकलन नै गर्न नसकिने भएकाले यसप्रति सचेत रहनु पर्ने उल्लेख गरिएको छ । अर्थतन्त्रको रक्तसंचारकोरुपमा रहेको बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न सरकार, मातहतका निकाय र सरोकारवाला सम्पूर्ण पक्षहरुमा सिबिफिनले अपिल गरेको छ ।

Publish on: