सहकारीमा समस्या आउनुमा ५० प्रतिशत दोषी संस्थाका सीईओ: रजिस्ट्रार घिमिरे « Eglish Khabarhub

सहकारीमा समस्या आउनुमा ५० प्रतिशत दोषी संस्थाका सीईओ: रजिस्ट्रार घिमिरे



काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या आउनुको ५० प्रतिशत दोषी संस्थाका प्रमुख कार्यकारीहरु अधिकृत (सीईओ) हरु भएको आरोप लगाएका छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय संघ नेफ्स्कुनले बुधबार आयोजना गरेको सीईओ सम्मेलनमा उनले कानुनको पालना सही रुपमा नगर्न समस्या भएको बताए ।

‘विभाग खराब भयो भने मेरो जिम्मेवारी हुन्छ, मैले गलत गरेपछि मभन्दा तलका साथीले गलत गर्छन्, सीईओ पनि त्यस्तै हो, तपाईंहरुले गलत गरे तलका कर्मचारीले पनि राम्रो गर्दैनन् त्यसको जिम्मेवारी तपाईंहरुले लिनुपर्छ’ उनले भने ।

घिमिरेले सीईओहरुलाई ऐन कानुन, सहकारीको विनियम हुबहु पालना गर्न आग्रह गरे । सहकारी अभियान बिग्रिदा सञ्चालकभन्दा पनि सीईओ‌ समस्यामा पर्ने उनले बताए । बचतकर्ताको बचत जोगाउनका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने उनले सीईओहरुलाई आग्रह गरे ।

सहकारीहरुको नाममा अन्य काम गर्दा समस्या आएको भन्दै उनले सहकारी मर्म अनुसार संस्थाहरु चल्नुपर्ने बताए ।

‘अहिले सहकारीको बदनाम गराउने हाबी बनेका छन् । सदस्यले सीईओ चिनेका छैनन्, सन्चालक चिनेका छैनन’, उनले भने, ‘बजार प्रतिनिधि चिनेको भरमा बचत राख्छन्, त्यो पैसा संस्थाले सदस्यमा लगानी गरेन, अन्यत्र लगानी गर्दा समस्या भयो ।’

Publish on: