![](https://internal.appharu.com/wp-content/uploads/2019/05/microfinance_basics.jpg)
काठमाडौं । लघुवित्त वित्तीय संस्थामा ऋणीको संख्या उल्लेख्य मात्रामा घटेको छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको गैरस्थलगत सुपरिवेक्षण प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा ऋणीको संख्या ४३ हजारले घटेको उल्लेख छ ।
असार मसान्तसम्म ३३ लाख ३ हजार ऋणीको संख्या रहेकामा पुस मसान्तमा आइपुग्दा ४३ हजारले घटेर ३२ लाख ६० हजार मात्रै रहेको छ ।
यो वर्षको सुरुदेखि नै ऋणीको संख्या घटेको रिपोर्टमा उल्लेख छ । गत आवको सोही अवधिमा भने ऋणीको संख्या बढेको थियो । गत आवको असार मसान्तमा ऋणीको संख्या २९ लाख ९२ हजार रहेको थियो भने पुस मसान्तमा ३१ लाख ७१ हजार पुगेको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या २.१९ प्रतिशतले बढेर ५९ लाख ८८ हजार पुगेको छ । असार मसान्तमा ५८ लाख ६० हजार रहेको थियो । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ ।
२०७९ असार मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ पुस मसान्तसम्ममा ६४ वटा कायम भएको छ ।
६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ७.४४ प्रतिशतले बढेर ४ हजार ९६५ रहेको थियो । यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.३४ प्रतिशतले मात्रै बढेको छ । अहिले शाखाको संख्या ५ हजार ७९ रहेको छ ।
SHARE YOUR THOUGHTS