राजस्व संकलनमा सुस्तायो इटहरी उपमहानगर, ८ महिनामा जम्मा ४७ प्रतिशत राजस्व « Eglish Khabarhub

राजस्व संकलनमा सुस्तायो इटहरी उपमहानगर, ८ महिनामा जम्मा ४७ प्रतिशत राजस्व



प्रकाश बन्जारा । इटहरी । इटहरी उपमहानगरपालिकाले चालु आर्थिक बर्षको ८ महिनामा अनुमानित बजेटको ४७.५५ प्रतिशतमात्रै राजश्व संकलन गरेको छ ।

चालु आर्थिक बर्षको ८ महिना वितिसक्दा उपमहानगरले राजश्व संकलन सन्तोष जनक रुपमा भएको देखिँदैन । उपमहानगरपालिकाले साउन १ गतेदेखि फागुन २८ गते सम्म विभिन्न शिर्षकमा १७ करोड १४ लाख २४ हजार राजश्व संकलन गरेको छ । उपमहानगरले बजेट निर्माणका बखत चालु आर्थिक बर्षमा ३६ करोड ५ लाख रुपैँया राजश्व संकलन हुने प्रक्षेपण गरेको थियो । चालु आर्थिक बर्षको हाल सम्म संकलित राजश्व अनुमानित राजश्वको ४७ दशमलव ५५ प्रतिशत हो ।

इटहरी उपमहानगरले अघिल्लो आर्थिक बर्षको ८ महिनामा १५ करोड ९४ लाख २८ हजार रुपैँया राजश्व संकलन गरेको थियो । राजश्व संकलनको हिसावले अघिल्लो आर्थिक बर्षको भन्दा २ झण्डै डेढ करोड रुपैंया बढी राजश्व संकलन भएको भएता पनि अनुमानको तुलनामा भने राजश्व संकलनमा कमी आएको हो ।

गत पौष मसान्तमा आन्तरिक राजश्वमा वृद्धि गर्ने उदेश्यले सार्वजनिक विदाको दिनसमेत राजश्वमा छुट दिँदै कार्यलय खोलेर आन्तरिक राजश्व संकलनमा करदातालाई आव्हान गरेको थियो । यद्यपि राजश्व संकलनमा भने अनुमान भन्दा निकै तल छ । आर्थिक मन्दीको मारमा परेका करदातालाई राजश्व तिर्न आकर्षित गर्न उपमहानगरले ल्याएको कर छुट तथा अन्य नीति प्रभावकारी नभएको गुनासो अधिकांश करदाताले गरेका छन् ।

आठ महिनामा जम्मा ४७ प्रतिशत राजश्व उठाएको उपमहानगरले चालु आर्थिक बर्षको ४ महिनामा ५३ प्रतिशत राजश्व उठाउन सक्ने अवस्था नभएको विज्ञहरु बताउँछन् ।

सोचे अनुरुप राजश्व संकलन नहुँदा नगरपालिकाले आन्तरिक स्रोतबाट सन्चालन हुने आयोजनाहरु प्रभावित हुने आशंका बढेको छ त्यसो त सर्वत्र राजश्वमा गिरावट आएपछि संघीय सरकारले नै विकास निर्माण बाहेकका कतिपय शिर्षकमा २० प्रतिशत खर्च कटौती गर्न सबै तहलाई परिपत्र गरिसकेको छ ।

स्थानीय सरकारहरुले सोहि परिपत्र कार्यान्वयनका लागि नगरसभा गर्दै बजेटका शीर्षक र सिलिङ्ग परिमार्जन गर्न थालिसकेका छन् भने सम्झौता भइनसकेका योजनाहरु सम्पन्न हुनेमा शंका उब्जिसकेको छ ।

Publish on: