सहकारी महासंघको अपिल: हल्लाको पछि लागेर सञ्चालक र कर्मचारीहरूमाथि दुर्व्यवहार नगर्नू « Eglish Khabarhub

सहकारी महासंघको अपिल: हल्लाको पछि लागेर सञ्चालक र कर्मचारीहरूमाथि दुर्व्यवहार नगर्नू



काठमाडौ । राष्ट्रिय सहकारी महासंघले सहकारी संघ संस्था तथा सदस्यहरूका लागि ७ बुँदे अपिल जारी गरेको छ ।

महासंघले बुधबार जारी गरेको अपिलमा सहकारीलाई संयमताका साथ नियमित कारोबार गर्न भनेको छ ।

‘केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका कारण सबै सहकारी संस्थाहरू उस्तै हुन् भन्ने बुझाइले सदस्यहरूबाट एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाइ भई संस्थामा गम्भीर असर पर्न जाने भएकोले सम्पूर्ण सदस्यहरूलाई संयमताका साथ नियमित कारोवार गर्न हुन अनुरोध छ’ अपिलमा उल्लेख छ ।

सहकारी संघ/संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरूलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा व्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाई दिन अनुरोध गरेको छ ।

संस्था बचाउन र सदस्यहरूको बचत सुरक्षण गर्ने कार्य सदस्यहरूबाट नै हुने भएको हुँदा ऐन, नियमावली, संस्थाको विनियमअनुसार समिति विघटन तथा चयन गर्ने अधिकार समेत सदस्यमा निहित हुने भएकोभन्दै संस्थामा आफ्नो सदस्यताको जिम्मेवारी सक्रियताका साथ निर्वाह गर्न अपिल गरेको छ ।

संघ/संस्थाहरूले अन्य सहज परिस्थितिभन्दा बढी सदस्यसँग सम्पर्क समन्वय गरी विश्वासको वातावरण सिर्जना गर्दै संस्था नियमित रूपमा संचालन गर्न अपिल गरिएको छ ।

संस्थाका सदस्यहरूले निराधार हल्लाकापछि लागि संचालक एवं कर्मचारीहरूमाथि दुर्व्यवहार, हुलदंगा नगरी सामान्य परिस्थितिमा भै संस्था सहज रूपमा संचालन हुने वातावरण बनाई दिनु र हालको प्रतिकूल अवस्थामा बचतकर्ताहरूलाई धैर्य गर्न अपिल गरेको छ ।

संघ / संस्थाको सम्पत्ति दायित्व व्यवस्थापनका लागि नियमित वित्तीय विश्लेषण गर्दै अल्पकालिन योजना तर्जुमा गरी जोखिम न्यूनीकरण गर्न, जिल्ला, प्रदेश तथा केन्द्रिय स्तरका संघहरू तथा राष्ट्रिय सहकारी बैंकले समेत सदस्यहरूको समस्या समाधानका लागि संस्थाहरूसंग सहजीकरण गरी रचनात्मक तथा सन्देशमूलक जागरणको भूमिका निर्वाह गर्न भनेको छ ।

Publish on: