विराटनगरमा रानीपोखरी ग्रीनपार्कको निर्माण धमाधम हुँदै « Eglish Khabarhub

विराटनगरमा रानीपोखरी ग्रीनपार्कको निर्माण धमाधम हुँदै



विराटनगर । विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अघि सारेको छ । उत्तरीभन्दा दक्षिण क्षेत्र तुलनात्मक रुपमा विकासमा पछि परेको भन्दै महानगरले विकासका योजनालाई प्राथमिकतामा राखेर काम सुरु गरेको हो ।

केही समयअघि वडा नम्बर १४ स्थित रानीपोखरीमा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुने ग्रीनपार्कको शिलान्यास गरेको महानगरले सोही ठाउँमा मठापोखरीको सौन्दर्यीकरणको काम सुरु गरेको छ ।

९ करोड ६ लाख ८० हजार रुपैयाँ लागत अनुमान भए पनि कला विल्डर्सले ६ करोड १९ लाख ८६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । मठापोखरीको सौन्दर्यीकरणसँगै पार्कसमेत निर्माण हुनेछ ।

पोखरी परिसरभित्र खुल्ला हल, भजन सेट, डबली, चौतारी, पानीको फोहोरा, बैठक कोठा, भ्यू डेक स्लाब, सुविधा सम्पन्न शौचालय, व्याडमिन्टन कोर्ट निर्माण गरिनेछ ।

त्यस्तै पश्चिम र दक्षिणमा आकर्षक प्रवेशद्वारसमेत निर्माण हुने कला विल्डर्सले जनाएको छ । विल्डर्ससित गत माघ १८ गते निर्माण सम्झौता भएको थियो । ५ करोड १७ लाख ६४ हजार रुपैयाँमा ठेक्का लागेको रानीपोखरी ग्रीनपार्कको निर्माण धमाधम भइरहेको छ ।

मठापोखरी परिसरमार निर्माण हुने संरचनाको महानगरले शुक्रबार शिलान्यास गरेको छ । ६ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण हुने सुविधा सम्पन्न पार्कको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शिलान्यास गरे ।

मठापोखरी हाताभित्र निर्माण हुने पार्कसहितको संरचनाको कोइरालाले शिलान्यास गरेका हुन् । महानगरले दक्षिणी क्षेत्रलाई प्राथमकितामा राखेर काम गरिरहेको मेयर कोइरालाले बताए ।

चुनावताका जनताको बीचमा गरेको प्रतिबद्धताअनुसार तीनवटा योजना सुरु भइसकेको मेयर कोइरालाको भनाइ थियो । ‘मैले चुनावताका गरेका वाचाहरू क्रमशः पूरा गर्दैछु,’ मेयर कोइरालाले भने, ‘प्राचीन विराटराजाको दरबारको संरचना सञ्चालनमा आइसकेको छ । रानीपोखरीको पार्क निर्माण पनि सुरु भएको छ भने मठापोखरीको पनि काम सुरु भएको छ ।’

महानगरले चालु आर्थिक वर्षका लागि विराटराजा, रानीपोखरी र मठापोखरीका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । मेयर कोइरालाले विकासका ठूला योजनामार्फत दक्षिणी क्षेत्रको विकासलाई गति दिएकोमा वडाध्यक्षहरूसमेत खुसी देखिएका छन् ।

वडा नम्बर १४ का अध्यक्ष सूर्यनारायण महतो, १५ का प्रकाश साह र १८ का जितेन्द्रकुमार साहले दक्षिणी क्षेत्रको विकासले अब गति लिने बताए । उनीहरूले सञ्चालनमा रहेका योजना छिटो सम्पन्न गर्न सहजीकरण गर्नेसमेत प्रतिबद्धता जनाए।

आगामी २०८१ माघ १९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भए पनि अबको एक वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्माणको ठेक्का पाएको कला विल्डर्सका प्रबन्धक संजयकुमार यादवको बताए । ‘मलाई लाग्छ एक वर्षभित्रै हामी काम सकेर महानगरलाई हस्तान्तरण गर्नेछौं,’ यादवले भने ।

दक्षिणी क्षेत्रको विकासको सुरुवात भएकोमा स्थानीयसमेत खुसी देखिएका छन् । ऐतिहासिक र पौराणिक मठापोखरीको सौन्दर्यीकरण हुन लागेकोमा आफूहरू निकै नै खुसी भएको स्थानीय सुस्तम अलीले प्रतिक्रिया दिए । उनले भने, ‘दक्षिणी क्षेत्रका जनताका लागि शुभसंकेत देखिएको छ ।’

Publish on: