![](https://internal.appharu.com/wp-content/uploads/2020/06/kathmandu-plaza_1561526129.jpg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले कार्यालय प्रयोजनका लागि काठमाडौं प्लाजा भाडामा लिएको छ । महानगरका प्रवक्ता नविन मानन्धरकाअनुसार बुधबार भाडा सम्झौता भएको हो ।
बुधबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं प्लाजाको स्वामित्व रहेको नेपाल ट्रष्टका सहसचिव विष्णुप्रसाद ढकालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
मानन्धरकाअनुसार हाल १० वर्षसम्म काठमाडौं प्लाजा भाडामा लिने सम्झौता भएको हो । सुरुवातका पाँच वर्षका लागि मासिक ६० लाख ५० हजार रुपैयाँमा सम्झौता भएको मानन्धरले बताए । उनले भने, ‘बाँकी समयको लागि त्यसपछि नियमअनुसार भाडा बढ्छ ।’
पाँच वर्षपछि १० प्रतिशतले भाडा बढ्ने उनले बताए ।
काठमाडौं प्लाजामा महानगरका छरिएर रहेका सम्पूर्ण सेवाहरु सर्नेछन् । प्रवक्ता मानन्धरकाअनुसार महानगरको हालका कार्यालयदेखि अन्य स्थानमा छरिएर रहेका सम्पूर्ण कार्यालयहरु काठमाडौं प्लाजामा सर्नेछन् ।
७० वटा चारपाङ्ग्रे र २ सय वटा दुई पाङ्ग्रे सवारी साधन अट्ने पाकिङसहित रहेको ७ तल्ला रहेको काठमाडौं प्लाजा पाँच रोपनी २ पैसा क्षेत्रफलमा फैलिएको छ ।
SHARE YOUR THOUGHTS