काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा उनीहरुले लिने विभिन्न शुल्कका बारेमा जानकारी लिन केन्द्रीय बैंकले आग्रह गरेको छ ।
कर्जा लिँदा ब्याज मात्र नभई अन्य विभिन्न अवस्थामा विभिन्न शुल्कहरू पनि भुक्तानी गर्नुपर्ने भएको भन्दै जानकारी लिन आग्रह गरेको छ ।
शुल्कका बारेमा कर्जा प्रदान गर्ने संस्थासँग विस्तृतमा छलफल गरी प्रस्ट भएपछि मात्र कर्जाको कारोबार गर्न केन्द्रीय बैंकले आग्रह गरेको छ । ऋणीलाई ब्याजदर तथा शुल्कका बारेमा सरल भाषामा बुझाउनु कर्जा प्रदान गर्ने संस्थाको दायित्व भएको जनाएको छ ।
विगतमा खुला छोडिएको शुल्कसम्बन्धी व्यवस्थालाई २०७७ साउनदेखि नियमन गरी कर्जा स्वीकृत गर्दा वाणिज्य बैंकले बढीमा ०.७५ प्रतिशत, विकास बैंकले बढीमा १ प्रतिशत, फाइनान्स कम्पनीले बढीमा १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले बढीमा १.५ प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ । यी संस्थाले तोकिएको शुल्कबाहेक अन्य कुनै शुल्क लिन पाउँदैनन् ।
कर्जासँग सम्बन्धित सम्पूर्ण लागतबारे स्पष्ट जानकारी हासिल गरेर मात्र कर्जा लिन राष्ट्र बैंकले आग्रह गरेको छ ।
SHARE YOUR THOUGHTS