
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार लामो समय टिकाउन आग्रह गरेका छन् ।
काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा मेयर शाहले स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुँदा संघीय सरकार टिकिदिए समन्वय गर्न सजिलो हुने बताए ।
‘स्थानीय सरकार भनेको स्थायी सरकार हो, पाँच वर्षका लागि,’ बालेनले भने, ‘जस्तो अहिले सम्माननीयज्यू यहीँ हुनुहुन्छ, मन्त्रीज्यू यहीँ हुनुहुन्छ । उहाँहरुको सरकार टिकिदिँदैन र हामीलाई कहिलेकाँही गाह्रो हुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यू यसपालि सरकार केही समयलाई टिकिदिए पनि हामीलाई समन्वय गर्न सजिलो हुन्छ । किनभन्दा धेरै कुराहरु जोडिदो रहेछ । स्थानीय सरकारले एक्लैले गर्न नसक्ने कामहरु धेरै हुन्छन् ।’
स्थानीय तहका न्यायिक समितिका अध्यक्षसमेत हुने उपप्रमुखहरुलाई आफ्नै क्षेत्रबाट न्याय दिने पनि वातावरण बनाउन बालेनले आग्रह गरे । उनले हरेक पालिकामा सिंहदरबार र सरकार छ भन्ने आभास दिलाउनुपर्ने बताए ।
‘साँच्चै सरकार सिंहदरबारमा मात्रै नभएर पालिका पालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै नभएर पालिका पालिकामा छ भन्ने कुरालाई आगामी दिनमा साँच्चै अवलम्बन गर्न सकियोस्,’ साहले भने, ‘न्याय माग्नका लागि ११ दिन हिँडेर काठमाडौं महानगरपालिकामा आउनु नपरोस् । आफ्नै पालिकामा समस्या समाधान होस् । यसका लागि तपाईंहरु जिम्मेवार पनि हुनुहुन्छ।’
SHARE YOUR THOUGHTS