![](https://internal.appharu.com/wp-content/uploads/2023/03/gathabandan-prachanda-768x480.jpg)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बुधबार बसेको गठबन्धन दलहरुको बैठकमा भागवण्डा टुंगो लागेसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुले मन्त्री बन्नेको नामावली प्रधानमन्त्रीलाई बुझाएपछि आजै मन्त्रिपरिषद् विस्तार हुन जनाइएको छ ।
हिजोको बैठकमा गठबन्धन दलहरुले पाउने मन्त्रीको संख्या टुंगो लागेको भएपनि कुन कुन मन्त्रालय कसले पाउने भन्नेबारे भने टुंगो लागेको छैन । त्यसका लागि गठबन्धन दलहरुको बैठक आज विहान बस्दै छ । मन्त्रालय टुंगो लागेसँगै आज साँझसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ ।
नेकपा एमाले, राप्रपासहितका दलहरुसँगको गठबन्धन टुटेर कांग्रेस, एकीकृत समाजवादीसँग जोडिएसँगै प्रधानमन्त्रीले एक महिनादेखि १६ मन्त्रालय आफैंसँग राखेका छन् ।
हिजोको बैठकमा कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी बनेको नेताहरुको भनाइ छ । त्यस्तै प्रभु साहलाई पनि मन्त्री बनाउने तयारी प्रधानमन्त्रीको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी प्रधानमन्त्रीको छ ।
SHARE YOUR THOUGHTS