देउवा दम्पतीलाई दोष दिँदै अर्थशास्त्री स्वर्णिम वाग्लेले गरे कांग्रेस छाडेको घोषणा « Eglish Khabarhub

देउवा दम्पतीलाई दोष दिँदै अर्थशास्त्री स्वर्णिम वाग्लेले गरे कांग्रेस छाडेको घोषणा



काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गरेका छन् । बिहीबार अपराह्न सामाजिक सञ्जालमार्फत वाग्लेले कांग्रेस छाडेको ‌औपचारिक घोषणा गरेका हुन् ।

आफ्नो ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको कांग्रेस पार्टी छोडेको वाग्लेले लेखेका छन् ।

यस्तो छ कांग्रेस छाडेको वाग्लेको घोषणा

वि.सं २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।

त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें ।

विशेषत: योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ।

तर, पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ। जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई-भाउजु-साला-भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।

अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु। आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो। जय नेपाल ।

योजना आयोगको उपाध्यक्ष बनाउने देउवासँग किन चिढिए वाग्ले ?

गत वर्षको कांग्रेस महाधिवेशनमा वाग्लेले क्याम्प परिवर्तन गरी शेखर-गगन पक्षमा खुलेपछि देउवा क्रुद्ध भएका थिए ।

वाग्लेले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजुको निरन्तरको अपमानले पार्टीमा बस्न नसकेको उल्लेख गरे पनि देउवाले उनलाई राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त गरेका थिए । त्यसपछि उनी आमरुपमा अर्थशास्त्रीका रुपमा परिचित भएका थिए ।

देउवाले नै वाग्लेलाई कांग्रेस महासमिति सदस्य बनाएका थिए । योजना आयोगको उपाध्यक्ष छाडेर वाग्ले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकारको रुपमा जागिर खान गएका थिए । त्यहाँ जागिर सकेर नेपाल फर्किएका उनले गत प्रतिनिधिसभा निर्वाचनमा चितवन वा गोरखाबाट सांसदको टिकट मागेका थिए ।

तर, क्याम्प परिवर्तन गरेको र असहज अवस्थामा देश छाडेर विदेशी संस्थामा जागिर खान गएको भन्दै रिसाएका देउवाले वाग्लेलाई टिकटनै दिएनन् । उल्टै वाग्लेले योजना आयोगमा प्रवेश गराएर ‘ग्रुम’गरेका विश्व पौडेललाई देउवाले चितवनबाट टिकट दिएपछि उनी देउवासँग थप चिढिए ।

शेखर गगन क्याम्पमा लागेर राजनीतिक सक्रियता बढाएका वाग्ले अहिले अर्थमन्त्रीमा समेत दाबेदार थिए । देउवाले प्रकाशशरण महतलाई अर्थमन्त्री बनाउने निश्चित भएपछि वाग्ले पार्टी छोड्ने निर्णयमा पुगेका हुन् ।

देउवा रहुन्जेल कांग्रेसमा हामीले अवसर नपाउने रहेछौं अब यो पार्टीमा बस्नुको कुनै औचित्य छैन केही दिन यतादेखि आफू निकटसँग वाग्लेले भन्दै आएका थिए ।

कांग्रेसले टिकट नदिएपछि गत निर्वाचनमै उनलाई एमाले, माओवादी र रास्वपाले काठमाडौंबाट चुनाव उठ्न गरेको प्रस्तावलाई भने उनले अस्वीकार गरेका थिए ।

पछिल्लो समय कांग्रेसबाट विरक्तिएको देखेका लामिछानेले वाग्लेलाई आफ्नो पार्टीमा आएर उपचुनाव लड्न प्रस्ताव गरेका हुन्। लामिछानेको उक्त प्रस्तावलाई अहिले भने वाग्लेले स्वीकार गरे । र, कांग्रेससँगको सम्बन्ध तोडेको घोषणा गरे ।

Publish on: