
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनावश्यक खर्चलाई कटौती गर्न राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या खटाउन आग्रह गरेका छन् ।
बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा सम्बोधन गर्दै महामन्त्री थापाले देशको आर्थिक अवस्था संकटग्रस्त रहेकाले राष्ट्रपति र प्रधानमन्त्रीलाई सचिवालय सदस्यको संख्या घटाउन आग्रह गरेका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीदेखि विभिन्न निकायका पदाधिकारीहरु सबैले अत्यावश्यक बाहेकको खर्चलाई कटौती गर्नुपर्ने उनले बताए।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भन्न सक्नुपर्छ मैले मेरो सचिवालयको सदस्यबाट घटाएर सुरु गरेर, सम्माननीय राष्ट्रपतिले भन्न सक्नुपर्छ मलाई अहिले १२ जना, १५ जना सल्लाहकार राख्ने कानूनले सुविधा दिएको छ । तर म पाँच जना मात्रै राख्छु । म ३ जना मात्र राख्छु भन्नुपर्छ’ थापाले भने ।
सरकार खर्चमा मितव्ययी हुनुपर्ने उनको भनाइ छ । महामन्त्री थापाले विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्ने बताए ।
उनले देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) सँग पनि सम्वाद गर्नुपर्ने बताए ।
स्थानीय सरकारमा एमाले पनि रहेको उल्लेख गर्दै उनले एमालेसँगको सम्वाद र सहकार्य आवश्यक रहेको बताए । त्यस्तै सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उनको भनाइ छ ।
‘सरकार र राष्ट्र बैंकको सम्बन्ध परिपूरकको जस्तो सम्बन्ध हुनुपर्छ । सरकारले पनि राष्ट्र बैंकको नेतृत्वलाई त्यही हिसावले, राष्ट्र बैंकको नेतृत्वले पनि सरकारलाई को सरकारमा छ, कहाँबाट को आएको छ भन्ने आँखाले होइन यो बेलामा विश्वसनीय सम्बन्ध पनि हुनुपर्छ । पारदर्शी हुनुपर्छ । एकअर्काको दृष्टिकोणमा पनि समानता ल्याउनुपर्छ’ थापाले भने ।
महामन्त्री थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरे ।
‘हामीले प्रधानमन्त्रीलाई के भनेका छौँ भने तपाई त अब हिँडेर कहीँ पुग्छु भन्ने सोच्दै नसोच्नुस् । हिँडेर पुग्ने सुविधै छैन हामीसँग । हाम्रो सरकारसँग अब हिँडेर होइन दौडेर मात्र पुग्नसक्ने अवस्था छ । तर सरकारले दौदिन सुरु नै गरेन । अझै पनि तुना बाँधेको जस्तो छ । कहिले तुना बाँधेर बस्छ । कहिले कुर्सी खोज्छ । अल्मल्लिएको जस्तो भयो । यसले दौडिन शुरु गर्नुपर्यो ‘ थापाले भने ।
प्रधानमन्त्रीले सिंगो टिमलाई साथमा लिनु पर्ने थापाले बताए । बजेट अघि सरकारले नागरिकमा सरकारले काम सुरु गरेको महसुस गराउनु पर्ने बताए ।
‘जेठ १५ गते बजेट आउँछ । डेढ, दुई महिनाको समय छ । बजेट पछि पनि समय छ । सरकारले पाँच, ६ महिना सोच्ने हो । यो पाँच महिनाभित्र नेपालको सरकारले दगुर्न सुरु गरेर नागरिकहरुलाई सरकारले दगुर्न थाल्यो, गति पनि छ । लय पनि छ । संकल्प पनि छ । लक्ष्यमा पनि पुग्छ । काम सुरु गर्यो भन्ने कुराको महशुस गराएर नागरिकहरुको मनमा जुन अविश्वास देखिएको छ, भरोसा दिनुपर्यो ’ उनले भने ।


प्रतिक्रिया