
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले सरकारले विद्युत उत्पादन गरेर बिक्री गर्न निजी क्षेत्रलाई नदिँदा धेरै खेर जाने गरेको बताएका छन् ।
पावर समिट २०२३ को जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले सरकारले निजी क्षेत्रलाई विद्युत उत्पादन गर्न मात्रै खुला गरेको छ । विद्युत बिक्री गर्न पनि दिने हो नेपालमा उत्पादन भएको विद्युत खेर जाँदैन ।’
विद्युत उत्पादन गर्नेहरुले उत्पादन गरेको विद्युत व्यापार गर्न पाउनु पर्यो भनेर लामो समयदेखि माग गरेको भए पनि कार्यान्वयनमा नआएको उनको गुनासो छ ।
वर्षातको समयमा विद्युत खेर जाने गरेको भन्दै त्यसलाई रोक्न र उत्पादन भएको विद्युत प्रयोगमा ल्याउने नीति विद्युत प्राधिकरणले बनाउनु पर्ने उनको भनाइ छ ।
विद्युत व्यवसायीका अनुसार गत वर्ष वर्षातको समयमा करिब ४५० मेगावाट विद्युत खेर गएको थियो । कुल राष्ट्रिय प्रशारण लाइनको जडित क्षमता करिब २५५० मेगावाट पुगेको छ भने यो बर्ष थप करिब ६०० मेगावाट प्रणालीमा थपिदै छ । आगामी बर्षातको समयमा गत वर्षको भन्दा बढी नै विद्युत खेर जाने व्यवसायीहरुको भनाइ छ ।
इप्पानले बैशाख ५–६ गते आयोजना गर्न लागेको ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो कार्यक्रम पावर समिट २०२३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
समिटमा ऊर्जा क्षेत्रमा स्वदेशी र अन्तर्राष्ट्रिय सरोकारवालाहरूबाट ठूलो सहयोग तथा सकारात्मक प्रतिक्रिया प्राप्त भएको इप्पानले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय संरक्षक र लगानी बोर्ड, नेपाल सह–आयोजक रहेको समिटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एसियाली नेताहरूको उपस्थिति रहने आयोजकले जनाएको छ । समिटमा भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जा मन्त्रीहरूलाई बोलाइएको छ ।
नेपालको ऊर्जा क्षेत्रको बजार बिस्तारमा कोशेढुङ्गा साबित हुने समिटमा दक्षिण एसियामा लगानी जुटाउने सम्बन्धी प्रतिवेदन साउथ एसियन फोरम अन इनर्जी इन्भेस्टमेन्ट (सेफेआई)े ले सार्वजनिक गरिने अध्यक्ष आचार्यले बताए । नेपाली जलविद्युत आयोजना र भारतीय क्रेताबीच प्रत्यक्ष विद्युत खरिद सम्झौताका लागि एमओयूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनले नवीकरणीय ऊर्जाको विकास र बजार बिस्तारका लागि अन्य सम्झौता र समझदारीहरुमा हस्ताक्षर गरिने उनको भनाइ छ ।
सम्मेलनमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधि, पावर ट्रेडिङ कम्पनी, विद्युत उत्पादक, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, बिक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुने भएका छन् ।
सम्मेलनमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी बिभिन्न १५ ओटा सत्रहरु सन्चालन गरिने आयोजकले जनाएको छ ।
लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका परियोजनाहरु प्रदर्शन गरिनेछ ।
अहिले राष्ट्रिय प्रशारण लाईनको जडित क्षमता करिब २५५० मेगावाट पुगेको र यो बर्ष थप करिब ६०० मेगावाट प्रणालीमा थपिने भएको छ । सन् २०२७ सम्ममा नेपालको कूल बिद्युत उत्पादन क्षमता ६ हजार ७०० मेगावाट पु¥याउने लक्ष्य रहेको इप्पानले जनाएको छ । सुख्खा याममा हाल करिब ४५० मेगावाट बिद्युत आयात गरिररेको भएता पनि बर्षा याममा भने करिब १ हजार मेगावाट बिद्युत निर्यात गर्ने अवस्थामा देश पुगेको छ । बिद्युत उत्पादनमा भएको यो सफलतामा निजी क्षेत्रको योगदान करिब ६५ प्रतिशत पुगेको छ भने सन २०२७ सम्ममा ८० प्रतिशत पुग्ने बताइएको छ ।
SHARE YOUR THOUGHTS