सेबाेनको आम्दानी १८% घट्दा कर्मचारी खर्च १५०% ले बढ्यो, मितव्ययिता अपनाउन निर्देशन « Eglish Khabarhub

सेबाेनको आम्दानी १८% घट्दा कर्मचारी खर्च १५०% ले बढ्यो, मितव्ययिता अपनाउन निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डको आम्दानी १८ प्रतिशत घट्दा कर्मचारीको खर्च भने १५० प्रतिशतले बढेको छ ।

महालेखापरिक्षकको ६० औं प्रतिवेदनमा ‘धितोपत्र बजारमा गत वर्षसम्म ५२० बजार सहभागी रहेकोमा यो वर्ष ५३ थप भई ५८३ पुगेका छन् । धितोपत्र बजारमा वृद्धि भए तापनि यो वर्ष गत वर्षको तुलनामा बोर्डको आय १८ प्रतिशत घट्न गई कुल मुनाफ ९४ करोड ८४ लाख रुपैयाँबाट यो वर्ष ६८ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । कर्मचारी खर्च गत वर्षको तुलनामा १५० प्रतिशत वृद्धि भएकोले सञ्चालन नजिता अपेक्षा गरे अनुसारको हुन सकेको छैन ।’

प्रतिवेदनमा बोर्डले आयमा विविधीकरण र खर्चमा मितव्ययिता ल्याउन जिम्मेवार पदाधिकारीले ध्यान दिनुपर्ने उल्लेख छ ।
यस्तै समितिहरूको कार्य सम्पादन बोर्डमा सञ्चालक समिति, लेखा समितिको अतिरिक्त अन्य १० समिति कार्यरत रहेका छन् । उक्त मध्ये पदपुर्ति समितिको ४५ पटक, धितोपत्र दर्ता अनुगमन समितिको ५५ पटक र खरिद एकाइ समितिको बैठक ३६ पटकसम्म बैठक बसेको पाइएको छ । बैठक भत्ता बाहेक १८ लाख ४२ हजार खर्च लेखेको प्रतिवेदनमा उल्लेख छ । कार्य सम्पादनको एजेन्डा र कार्यबोझ आधारमा यस्ता समितिको कार्य छरितो बनाई खर्चमासमेत मितव्ययिता ल्याउन निर्देशन दिइएको छ ।

यस्तै धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१ मा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरूको आधारमा आफुले धितोपत्र कारोबार गरेमा वा अरुलाई गर्न लगाएमा भित्री करोबार गरेको मानी सोही ऐनको दफा १०१ अनुसार दण्ड सजाय हुने व्यवस्था छ । धितोपत्र बजारमा अस्वाभाविक रूपले शेयरको मूल्य घटबढ लगायतका भित्री कारोबार गरेको गुनासो आउने गरेको छ । भित्री कारोबार र सो सम्बन्धी गुनासो सम्बोधन गर्ने प्रणालीको व्यवस्था मिलाउनु पर्दछ ।

प्रतिवेदनमा बोर्डले खरिद गर्न लागेको जग्गाका विषयमा पनि उल्लेख गरिएको छ । ‘जग्गा खरिद गर्नुपूर्व जग्गाको नापजाँच र स्वामित्व यकिन गरी निर्णय गर्नुपर्नेमा सो बेगर नै उपत्यका विकास प्राधिकरणलाई २०७७ फागुन १२ गते ७ रोपनी जग्गा खरिदका लागि ४२ करोड ५६ लाख पेस्की दिएकोमा जग्गाको स्वामित्व प्राप्त हुन नसकी पेस्की बाँकी रहेको छ । सम्बन्धित निकायसँग समन्वय गरी जग्गा प्राप्त गर्नुपर्दछ’ प्रतिवेदनमा उल्लेख छ ।

Publish on: