२ खर्ब तरलता हुँदा पनि ब्याजदर उच्च भएकाले कर्जा प्रवाह हुन सकेनः ढकाल « Eglish Khabarhub

२ खर्ब तरलता हुँदा पनि ब्याजदर उच्च भएकाले कर्जा प्रवाह हुन सकेनः ढकाल



कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ प्रणालीमा २ खर्ब रुपैयाँ तरलता  भए पनि बैंकको ब्याजदर उच्च भएको कारण कर्जा प्रवाह हुन नसकेको बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले नीतिगत निर्णय गरी बैंकको ब्याजदर घटाएर कर्जा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले स्थानीय तहमा गएको रकम ऋणपत्रलाई सीडी रेसियोमा गणना गर्न पाउने समयावधि थप नभए बैंकमा रहेको २ खर्बको तरलता ५० अर्बमा झर्नसक्ने तर्क गरे ।

स्थानीय तहको रकम र ऋणपत्र सीडी रेसियोमा गणना गर्न असार मसान्तबाट नपाइएला भन्ने डरले बैंकहरुले कर्जा प्रवाह गर्न नसकेको ढकालको भनाइ छ ।

बैंकहरुले कर्जा प्रवाह गर्न राष्ट्र बैंकको सीडी रेसियो कायम गर्ने समय थप गर्ने सुनिश्चिता गर्नुपर्ने उनले माग गरे । ‘बैंकको खराब कर्जाको अनुपात ३ देखि ४ प्रतिशतसम्म पुगेको छ,’ अध्यक्ष ढकालले भने, ‘सरकारले बजारमा तरलता सहज बनाउन तत्काल पुँजीगत खर्च बढाउन आवश्यक छ ।’

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए । ‘सरकारले मुलुकभित्र भएको प्राकृतिक स्रोत र साधनलाई सदुपयोग तथा निर्यात प्रवर्धन गर्ने गरी राष्ट्रिय नीतिको व्यवस्था गर्न आवश्यक छ,’ उनले भने ।

बैंकहरुले १ सय जनामा मात्रै ऋण प्रवाह गर्नु जोखिमपूर्ण रहेको मल्लले बताए । उनले मुलुकमा भएका ९० प्रतिशत उद्योग साना तथा मझौला उद्यमी रहेको भन्दै साना तथा मझौला उद्योगलाई सरकारले प्रवर्धन गर्नसके मुलुक आत्मनिर्भर बन्नसक्ने भनाइ राखे ।

त्यस्तै, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले भोगेको समस्याको कारण सरकारले लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको बताए ।

निष्क्रिय कर्जामा उच्च वृद्धि, उच्च ब्याजदर, नयाँ लगानीको योजना स्थागित, घरजग्गा र सेयर बजारको कारोबार ठप्प, राजश्व संकलनमा कमी, साना र मझौला उद्योगमा समस्याको कारण बजार मागमा संकुचन ल्याएको बताए ।

उनले बजारको मागमा आएको गिरावटले उद्योगी व्यवसायीहरुको मनोबल गिरावट आएको बताए । बैंकमा बढ्दै गएको खराब कर्जाको अवस्था बढ्दै जाने हो भने मुलुकको अर्थतन्त्रमा अर्को ठूलो समस्या आउनसक्ने बताए ।

Publish on: