यस्तै हो भने दुई वर्षमा देश भोकमरीमा जान्छ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै क्षेत्रलाई परिचालन गरेर उत्पादन नबढाउने हो भने ढेड–दुई वर्षमा देश भोकमरीमा जाने बताएका छन् । त्यसबाट बच्न सरकार, निजी क्षेत्र, सहकारीलगायत सबै क्षेत्रले उत्पादन बढाउनतिर लाग्नुपर्ने उनले बताए ।

अहिले सबै चिन्तित रहेको, तरलता अभावले लोन नपाउने र पाए पनि समयअघि नै फिर्ता गर भन्ने समस्या रहेको ओलीको भनाइ छ ।

“कृषकले खेतमा धानको बीउ राख्नासाथ सरकारले बीउ फिर्ता माग्ने अवस्था छ,” बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आयोजना गरेको नेपाल बिजनेस समिटमा उनले भने, “बीउ राखेको धान किसानले कसरी फिर्ता ल्याउन सक्छ, अहिलेका ती किसान ऋणी हुन ।”

अर्थतन्त्रमा धेरै नै चुनौती रहेको र त्यसलाई सम्भावनामा रुपान्तरण गर्न आवश्यक रहेको ओलीको तर्क छ ।

एमालेले नेपालको अर्थतन्त्रलाई एसियाको नमुना अर्थतन्त्र बनाउने राष्ट्रिय आकंक्षा राखेको र यो गर्न सकिने पनि उनले बताए । जनतालाई अधिकार सम्पन्न बनाउन सकिने उनको दाबी छ । २ प्रतिशतभन्दा कम रहेको आर्थिक वृद्धिदरलाई वृद्धिदर भन्न नमिल्ने ओलीले बताए ।

नेपालले अहिले १ ट्रक आयात गर्दा १ कचौरा निर्यात गर्ने गरेको भन्दै उनले व्यंग्य गरे । देशमा उत्पादन वृदि हुने कुनै काम पनि नभएको ओलीको दाबी छ । “यी सबै सृजित समस्या हुन्,” उनले भने, “यो सधैं रहँदैन ।”

अहिले उत्पादनशील क्षेत्रमा कर्जा ज्यादै कम गएकोतर्फ ओलीले चिन्ता व्यक्त गरे । नेपालको अर्थतन्त्र दोस्रो त्रैमाससम्म ऋणात्मक हुनु भनेको इकोसिस्टममा समस्या देखिएको संकेत भएको उनको दाबी छ ।

आफूले देशको नेतृत्व गर्दा ६.५ प्रतिशत आर्थिक वृद्धि भएको जिकिर गर्दै उनले त्यसबेला भौतिक पूर्वाधार पनि धेरै बनेको बताए । अर्थतन्त्र माथि उठाउने सोचका साथ काम गरे असम्भव केही नभएको पूर्वप्रधानमन्त्री ओलीको तर्क छ ।

आफ्नो नेतृत्वमा सरकार बन्दा एमालेले रुपान्तरणको योजना ल्याएको, समृद्ध नेपालको आधार तय गरेको, एमालेले सरकार बनाएको छोटो समयमा ७ प्रतिशत आर्थिक वृद्धि गर्दै विश्वमा उदीयमान देश बनाउने दृढ संकल्पका साथ लागेको उनले बताए ।

‘यो सरकारले अर्थतन्त्र डुबाउन लागेको छ, सरकारसँग भिजन नै छैन, सरकारले देश विकासमा काम गर्न सकेको छैन,’ उनले भने।