
काठमाडौं । सांसद चित्रबहादुर केसीले संघीयता घाँडो भएको र यसका लागि राज्यकोषको ठूलो रकम खर्च भइरहेको बताएका छन् ।
अर्थमन्त्रीले संसदमा पेस गरेको विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताबारेको छलफलमा सोमबार सहभागी हुँदै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद केसीले देशभर संघीय र प्रदेशसहितको सांसदको संख्या र प्रदेशको संख्या र त्यसको खर्चको बारेमा केही कुरा नभएको बताए ।
अहिले आर्थिक संकट रहेको भन्दै उनले अर्थमन्त्रीलाई ८ वटा सरकार र प्रमुखहरुलाई कसरी पाल्नु हुन्छ भन्दै प्रश्न गरे ।
‘कति संकट छ अहिले ? कसरी पाल्नुहुन्छ ८ ठाउँमा प्रतिनिधिसभा, ७ ठाउँमा मुख्य मन्त्री ? त्यो पनि हरेक दुई महिना चार महिनामा बदलिरहने ? त्यसैले सबैभन्दा पहिले यसमा विचार गरौं’ उनले भने ।
संघीयताको प्रणाली नेपालले धान्न सक्दैन यो गल्ती नगरौं भनेर आफू एक्लै लडेको स्मरण गराउँदै उनले भने, ‘सबैले खिसिटिउरी गरेर उढाउनु भयो । अहिले सबैलाई यो संघीयता घाँडो भएको छ । पहिले पहिले नेपाली जनताले यो सिंहदरबार एक ठाउँमा देख्थे । प्रत्येक १ वर्ष, ६ महिनामा सरकार बदलिएको, सांसदको खरिद बिक्री, सरकार र सत्तामा जानका लागि सिद्धान्त, नीति परित्याग गर्ने, भनेजस्तो भएन भने पार्टी बदल्ने परिस्थिति बन्यो । हामीले त्यो बेला त्यसो भन्दा सबै साथीहरुले उल्लिबिल्ली पार्नुभयो ।’
अहिले नेपाली जनताले सबैभन्दा पाल्न नसकिने, सबैभन्दा घाँडो , धान्न नसकिने प्रणाली संघीयता भएको सोच्न थालेको उनले बताए ।
‘कुन खर्चले धान्नुहुन्छ ? कृषि लथांलिग छ, उद्योगधन्दा लथालिंग छ । हामीले निर्यात गर्ने भनेको मान्छे मात्र हो । दिनको २ हजार १५ सयका दरले मान्छे निर्यात गरेर उनीहरुले पठाएको रेमिट्यान्सले यो देश धान्न सक्नुहुन्छ ?’ केसीले भने, ‘त्यसकारणले उद्योगमा, कृषिमा, यातायातमा सबै कुरामा लथांलिग छ । त्यहि पनि सबै कुरा समेटेर लैजानुपर्छ । अलिहे संसदको गतिविधि पनि उत्साहजनक छैन । चार चार महिना हुन्छ सरकारलाई पूर्णता दिन सक्दैनौं । हामीले जुन सुकै हालतमा सरकारमा जान पाउनुपर्छ भनेर एक पटक सबै पार्टी सरकारको पक्षमा, चित्त नबुझ्दा सबै पार्टी सरकारको विपक्षमा पुगेको छ ।’
प्रतिक्रिया दिनुहोस्