
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता प्रकाशशरण महतलाई पार्टीको घोषणापत्र पढ्न सुझाव दिएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेका विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले आफूले कांग्रेको घोषणापत्र लेख्न सहयोग गरेकोभन्दै त्यसलाई पढेर कार्यान्वयनमा उतार्न अर्थमन्त्रीसँग आग्रह गरे ।
‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नु भएको होला अर्थमन्त्रीले । मैले पनि पढेको छु, थोर बहुत मैले पनि लेखिदिएको हो’ वाग्लेले भने, ‘त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएको छ । २४ देखि ४८ वटा ऐनहरुको खारेजी र संशोधनबारे कुरा गरिएको छ । आफ्नै घोषणापत्र पढेर त्यसलाई कार्यान्वयमा उतार्नू होला ।’
निजी क्षेत्रको मनोबलको कुरा विधेयकमा गरिएको भन्दै वाग्लेले त्यो स्वागतयोग्य भएको बताए । उनले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गर्न अर्थमन्त्रीसँग उनले आग्रह गरे ।
‘निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयलाई न्याय गरिदिनु होला यो हैरानी र झन्झटको यो दुष्चक्रबाट हामीले नेपाली अर्थतन्त्रलाई बाहिर लिएर आउनु पर्ने छ’ वाग्लेले भने ।