बीमा कम्पनी सुगममा मात्र केन्द्रित: ७२.२२% सक्रिय बिमालेख बाग्मतीमा

काठमाडौं । बीमा कम्पनीहरु सुगम क्षेत्रमा मात्रै केन्द्रित देखिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार तुलनात्मक रुपमा सुगम मानिने बाग्मती प्रदेशमा मात्रै बीमा कम्पनी केन्द्रित भएका हुन् ।

प्राधिकरणका अनुसार बिमा कम्पनीहरुको व्यवसाय र सक्रिय बिमालेखको संख्या बाग्मती प्रदेशमा बढी देखिएको हो ।

भौगोलिक लगायत विविध आधारमा विकट मानिने कर्णाली प्रदेशमा बीमाको आवश्यकता बढी छ । तर, सोही प्रदेशमा बीमाको पहुँच अत्यन्त कम रहेको हो । कर्णाली प्रदेशमा कुल सक्रिय बीमालेखको हिस्सा १.४४ प्रतिशत मात्रै छ । कुल १ करोड ४१ लाख ६५ हजार ९९८ वटा सक्रिय बिमालेख हुँदा कर्णाली प्रदेशमा सक्रिय रहेका बिमालेखको संख्या २ लाख ३ हजार ६ सय मात्रै छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार एउटै प्रदेशले कुल बिमालेखको आधाभन्दा बढी हिस्सा ओगटेको छ  । जीवन बीमा कम्पनीहरुमा जारी सक्रिय बिमा बिमालेखमध्ये बागमती प्रदेशको हिस्सा ७२.२२ प्रतिशत छ  । यस प्रदेशमा १ करोड २ लाख ३० हजार बिमालेख सक्रिय रहेका छन् ।

तथ्यांकअनुसार सक्रिय रहेका कुल पोलिसिमध्ये ८.९१ प्रतिशत बिमालेख कोशी प्रदेशका छन् । मद्येश प्रदेशको कुल सक्रिय बिमालेखमा ३.५९ प्रतिशत हिस्सा रहेको छ  । यस्तै, लुम्बिनी प्रदेशमा ६.३६ प्रतिशत, कोशी प्रदेशको ८.९१ प्रतिशत र सुदुरपश्चिम प्रदेशको ३.१९ प्रतिशत छ ।

कोशी प्रदेशका सक्रिय रहेको बिमालेखको संख्या १२ लाख ६२ हजार ८२६, मद्येश प्रदेशमा ५ लाख ७ हजार ८५३, गण्डकी प्रदेशमा ६ लाख ८ हजार ५४८, लुम्बिनी प्रदेशमा ९ लाख १ हजार ६४१ र सुदुरश्चिम प्रदेशमा ४ लाख ५१ हजार ४१४ वटा रहेका छन् ।

जीवन बिमा कम्पनीहरुले सावधिक जीवन बिमा, अग्रिम भुक्तानी सावधिक जीवन बिमा, रुपान्तरित सावधिक जीवन बिमा, बालबच्चा सम्बन्धी सावधिक जीवन बिमा, वैदेशिक रोजगार म्यादी जीवन बिमा, आजीवन बिमाशुल्क, एकल बिमाशुल्क जीवन बिमा, म्यादी जीवन बिमा र लघु जीवन बिमा बिक्री गर्दै आएका छन् ।

व्यवसायमा ४९.९९ प्रतिशत हिस्सा बाग्मति प्रदेशको

कम्पनीहरुले चैतसम्ममा १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुको कुल बिमा व्यवसायमा बाग्मति प्रदेशले ४९.९९ प्रतिशत हिस्सा ओगटेको छ । कम्पनीहरुले बाग्मति प्रदेशबाट ४७ अर्ब ११ करोड ६५ लाख रुपैयाँ कुल बिमाशुल्क संकलन गरेका छन् ।

व्यवसायमा लुम्बिनी प्रदेशले १४.५७ प्रतिशत, कोशी प्रदेशले १२.०४ प्रतिशत, गण्डकी प्रदेशले १० प्रतिशत र मद्येश प्रदेशले ९.२६ प्रतिशत हिस्सा ओगटेका छन् ।

यस्तै, कम्पनीहरुले लुम्बिनी प्रदेशबाट १५ अर्ब २६ करोड ५५ लाख, कोशी प्रदेशबाट १२ अर्ब ६१ करोड ५ लाख, मद्येश प्रदेशबाट ९ अर्ब ६९ करोड ३७ लाख, गण्डकी प्रदेशबाट १० अर्ब ४७ करोड ५ लाख, सुदुरपश्चिम प्रदेशबाट ५ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् ।