
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै शर्माले भ्रष्टाचारीविरुद्ध कडा नीति लिनुपर्ने बताए ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्याउन आग्रह गरे । ‘भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने अपील र आग्रह गर्न चाहन्छु,’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’
शर्माले भ्रष्टाचारका फाइल खोल्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा निर्दोष कोही फस्न नहुने र दोषी कोही बच्नु नहुने उनले बताए ।
भ्रष्टाचारको छानबिनका लागि राज्यले कुनै पनि हदम्याद राख्न नहुने शर्माको भनाइ छ । उनले थपे, ‘कुनै किन्तु-परन्तु नगरीकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरतापूर्वक जानका लागि कुनै पनि हदम्याद राख्ने कुराबाट सरकार पछि सर्नुपर्छ, यो राख्ने कुरासँग सहमति हुन सकिँदैन ।’