सिँचाइ कार्यालय बुटवलका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भूमिगत जलस्रोत र सिँचाइसम्बन्धी ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीसहित पाँच जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । कामै नगरी रकम भुक्तानी दिएको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो ।

अख्तियारले भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बुटबलका तत्कालीन प्रमुख इच्छाकुमार श्रेष्ठ, इन्जिनियर सन्तोषकुमार दास र लेखापाल नेत्रप्रसाद मरासिनीसहित भोलेबाबा कन्स्ट्रक्सन, त्यसका ठेकेदार शुकबहादुर गुरुङ र कम्पनीका अख्तियारवाला प्रकाश भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।

पम्पहाउस, स्टोरेज ट्यांकी र वितरण प्रणालीमा हुँदै नभएको काम भएको भनेर रकम भुक्तानी दिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । अख्तियारले कार्यालय प्रमुख श्रेष्ठ, इन्जिनियर दास र लेखा प्रमुख नेत्रप्रसाद मरासिनीमाथि ५३ लाख ७५ हजार बिगो मागदावी गरेको छ ।

निर्माण कम्पनी, त्यसका सञ्चालक र प्रतिनिधिलाई भने ६३ लाख ७ हजार रुपैयाँ विगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

यस्तै अख्तियारले पोखरा महानगरपालिका वडा नम्बर २८ मा कार्यरत सव-इन्जिनियर प्रविन बिकविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनेर सेवाग्राहीसँग १५ हजार घुस मागेको अभियोगमा विकविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको हो ।