चेक नै नकाटी साढे ३६ खर्ब रकम भुक्तानी « Eglish Khabarhub

चेक नै नकाटी साढे ३६ खर्ब रकम भुक्तानी



काठमाडौं । विद्युतीय भुक्तानी कारोबार बढेसँगै चेक नै नकाटी साढे ३६ खर्ब रुपैयाँ रकम भुक्तानी भएको छ ।

आइतबार संघीय संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले पेस गरेको आर्थिक सर्वेक्षणअनुसार चेक बिना नै ३६ खर्ब ६५ अर्ब ६ करोड रुपैयाँ रकम भुक्तानी भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा बढेको लगानी, यसका लागि गरिएको प्रोत्साहन र विद्युतीय उपकरणमा सर्वसाधारणको पहुँचका कारण विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रुपमा बढेको छ ।

गत फागुनसम्ममा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)बाट मात्रै २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भएको प्रतिवेदनमा उल्लेख छ । सरकारले २०७६ सालदेखि आरटिजिएस प्रणाली लागू गरेको थियो । सो अवधिदेखि हालसम्ममा करिब २३ खर्ब रुपैयाँ रकम चेक बिना नै रकम भुक्तानी भएको देखाएको छ ।

त्यसैगरी, फागुनसम्ममा एटीएमबाट ८१ अर्ब ७३ करोड रुपैयाँ, इसिसिबाट ४ खर्ब ५७ अर्ब ८२ करोड रुपैयाँ, आइपिएसबाट १ खर्ब ५९ अर्ब ९९ करोड रुपैयाँ, कनेक्ट आइपीएसबाट ३ खर्ब ४० अर्ब रुपैयाँ, डेबिट कार्डबाट ८५ अर्ब १४ करोड रुपैयाँ, क्रेडिट कार्डबाट १ अर्ब ४१ करोड र प्रिपेड कार्डबाट ३७ करोड रुपैयाँ विद्युतीय कारोबार भएको उल्लेख गरेको छ ।

साथै, इन्टरनेट बैंकिङमार्फत् १३ अर्ब ८६ करोड रुपैयाँ, मोबाइल बैंकिङबाट १ खर्ब ९१ अर्ब ८२ करोड रुपैयाँ, शाखारहित बैंकिङबाट १ अर्ब ५२ करोड रुपैयाँ, वालेटबाट १८ अर्ब १६ करोड रुपैयाँ, क्यूआरमा आधारित २० अर्ब ७८ करोड रुपैयाँ, पिओएसबाट ४ अर्ब ७१ करोड रुपैयाँ र इ कमर्सबाट ४७ करोड रुपैयाँ कारोबार भएको छ ।

Publish on: