
काठमाडौं । सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटमा सुरुङ मार्गका लागि छुट्याइने बजेटमा कटौती गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आव २०८०/०८१ को बजेटमा सुरुङमार्ग क्षेत्रमा ६ अर्ब १३ करोड बजेट बिनियोजन गरिएको छ । बजेटमा नागढुंगा सुरुङमार्गको निर्माण आगामी आवमा सम्पन्न गरिने उल्लेख गर्दै ५ अर्ब १३ करोड बिनियोजन गरिएको छ ।
त्यस्तै, टोखा–छहरे सुरुङ मार्गको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अधययन सम्पन्न गरी निर्माण कार्य अघि बढाउन १ अर्ब बजेट बिनियोजन गरिएको छ । उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन यसअघि नै भइसकेको छ ।
यसबाहेक आगामी आवमा सिद्धबाबा सुरुङ मार्गको निर्माणको कार्यलाई तीब्रताका साथ अघि बढाइने उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको तुलनामा सुरुङमार्गका लागि सरकारले बिनियोजन गरेको रकम र बजेटमा दिएको स्थान आगामी आवमा निकै कम देखिएको छ ।
चालु आवको बजेटमा सरकारले सुरुङ मार्गका लागि ६ अर्ब ३९ करोड बिनियोजन गरेको थियो । चालु आवको बजेटमा नागढुंगा सुरुङमार्गका लागि ५ अर्ब २० करोड बिनियोजन गरिएको थियो भने सुरुङ मार्ग विकास कार्यक्रमका लागि १ अर्ब १९ करोड बिनियोजन गरिएको थियो ।
चालु आवको बजेटमा समेटिएको सुरुङमार्गको विषयमा सिस्नेखोला नागढुंगाको सुरुङमार्ग आगामी आगामी आर्थिक वर्षभित्र खोलिने विषय उल्लेख गरिएको थियो ।
त्यस्तै, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माणको कार्य सुरु गरिने चालु आवको बजेटमा उल्लेख गरिएको थियो । उक्त सुरुङमार्गको काम अहिले सुचारु अवस्थामा रहेको छ ।
सँगै चालु आवको बजेटमा दुम्कीबास–बर्दघाट, कुलेखानी–भिमफेदि, खुर्कोट–चियाबारी, मझिमटार–शक्तिखोर, ब्याउलीढुंगा–ईमिल्चाखोला, सुर्खेत रानीघाट–भुरीगाउँ सुरुङमार्गको अध्ययन कार्य सम्पन्न गरिने विषय पनि समेटिएको थियो ।
सँगै सरकारले चालु आवको बजेटमार्फत ‘चार भञ्ज्याङ्ग, चार सुरुङ मार्ग’को अवधारणा अन्तर्गत काठमाडौं उपत्यकाका तीन भञ्ज्याङ्गतर्फ टोखा–छहरे, गोदावरी–पनौति र साँगा–बनेपा खण्डको सुरुङ मार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने विषय समेटिएको थियो ।
तर, आगामी आर्थिक वर्षको बजेटमा कुनै पनि नयाँ स्थानमा सुरुङ मार्गको सम्भाव्यता अध्ययनको विषय समेटिएको छैन । सरकारले निर्माणाधिन रहेको नागढुंगा सुरुङमार्ग तथा टोखा–छहरे सुरुङमार्गका लागि मात्रै बजेट बिनियोजन गरेको छ ।
SHARE YOUR THOUGHTS