मेन स्टोरी राइट

महानगरलाई नटेर्ने ६८ स्वास्थ्य संस्थालाई मन्त्रीले कारबाही नगरे अस्पताल प्रशासन बन्द गर्ने बालेनको चेतावनी



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सात दिनभित्र अस्पतालहरुलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्न गर्ने चेतावनी दिएका छन् ।

मेयर शाहले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ एवं प्रचलित स्वास्थ्य सम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य सुविधाहरु उपलब्ध गराउने सम्बन्धमा काठमाडौँ महानगरपालिकाबाट जेठ ६ गते गते सार्वजनिक सूचना जारी भैसकेको जनाएका छन् ।

कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ स्वास्थ्य मन्त्रीकको ध्यानाकर्षण गराएको भन्दै मेयर शाहाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको जानकारी दिए ।

यदी मन्त्रीले उनीहरुलाई कानुनी दायरामा नल्याए महानगर अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने उनले बताए ।

‘स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्घि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरु उपलब्ध गराउनेतर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौँ महानगरपालिकाले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरुको संलग्न विवरण अनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौं’ बालेनले भनेका छन्, ‘ यदि मन्त्रीज्यूले ७ दिनभित्र उहाँहरुलाई कानुनी दायरामा ल्याउनु भएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौं ।’