
काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२२/०२३ को चौथो त्रैमासका लागि जीडीपीको अनुमानित तथ्यांक बुधबार सार्वजनिक गर्दै छ ।
भारतीय सञ्चालमाध्यममा विश्लेषकहरुलाई उदृत गर्दै प्रकाशित समाचारअनुसार भारतको जनवरीदेखि मार्चसम्मको त्रैमासको अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतदेखि ५.५ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।
यसअघिको त्रैमास अर्थात डिसेम्बर २०२२ मा भारतको अर्थतन्त्रको वृद्धि ४.४ प्रतिशत थियो । त्यसअघि सेप्टेम्बरमा ६.३ प्रतिशतको आर्थिक वृद्धि भारतमा भएको थियो ।
भारतीय रिजर्भ बैंक (आरबिआई)को वार्षिक रिपोर्टकाअनुसार आव २०२३ को चौथो त्रैमासको वास्तविक जीडीपी ५.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । स्टेट बैंक अफ इण्डियाले चौथो त्रैमासका लागि अर्थतन्त्रको बृद्धिदर ५.५ प्रतिशत हुने अनुमान गरेको छ । आर्थिक वर्ष २०२३ का लागि भारतको अर्थतन्त्रको बृद्धि ७.१ प्रतिशत हुने सम्भावना छ ।
भारतको राष्ट्रिय तथ्यांक कार्यालय (एनएसओ)ले २०२३ का लागि भारतीय जिडिपीको बृद्धिदर ७ प्रतिशत हुने अनुमान गरेको छ।
भारत अर्थतन्त्र विगत पाँच वर्षमा हेर्दा सन् २०२०/०२१ मा ऋणात्मक भएको थियो । त्यसबाहेकका वर्षहरुमा भारतीय अर्थतन्त्र निरन्तर उकालो लागिरहेको छ ।
आव २०१८/०१९ मा ६.५ प्रतिशत, २०१९/०२० मा ३.९ प्रतिशत, आव २०२०/०२१ मा ऋणात्मक ५.८ प्रतिशत, २०२१/०२२ मा ९.१ प्रतिशतको आर्थिक बृद्धि भारतमा भएको थियो । आव २०२२/०२३ का भारतमा ७ प्रतिशतको बृद्धि जीडीपीमा देखिने अनुमान गरिएको छ ।
भाष्करबाट
SHARE YOUR THOUGHTS