करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे संसदीय छानविन समिति गठन गर्नुपर्छ: लिङ्देन « Eglish Khabarhub

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे संसदीय छानविन समिति गठन गर्नुपर्छ: लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराइएको विषयबारे सत्यतथ्य बाहिर ल्याउन संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

केही व्यापारिक घरानाका निकट मानिएका अनधिकृत व्यक्तिलाई करको दर हेरफेरमा संलग्न गराइएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतको आलोचना भइरहेका बेला अध्यक्ष लिङदेनले त्यसबारे सत्यतथ्य पत्ता लगाउन संसदीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले पूर्वनायव सुब्बा रामकृष्ण श्रेष्ठलाई करारमा नियुक्ती गरी सो काम लगाइएको भन्ने झारा टार्ने ढंगले जवाफ दिएको उल्लेख गरे ।

गत वर्ष पनि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि सोही खालको आरोप लागेको स्मरण गराउँदै अध्यक्ष लिङदेनले त्यसलाई त्यसै छोडन नमिल्ने बताए ।

‘हिजो सञ्चार माध्यामबाट आइसक्यो । र, संसदमा सबभन्दा पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीका हाम्रा प्रमुख सचेतकले विषय पनि उठाई सक्नु भएको छ । गत वर्ष पनि यस किसिमको अनधिकृत मान्छेलाई बजेट निर्माण प्रक्रियामा सामेल गराइयो भन्ने कुराहरु उठ्यो । तर, निष्कर्षमा पुग्न सकेन । र, यो वर्ष पनि बजेट वक्तव्य आउनु अघिल्लो दिन मात्रै ठूलो संख्यामा गाडीहरु भित्रिएको छ भन्छन् । र, भोलीपल्ट बजेट वक्तव्य आउँदाखेरी करको दरमा हेरफेर भएको छ । यो शंकास्पद थियो’ उनले भने, ‘ यस्तो अवस्थामा अहिले बजेट निर्माण प्रक्रियामा सेवानिवृत्त मान्छेलाई सामेल गरियो भन्ने कुरा आएको छ । र, सरकारले फेरि त्यो होइन । उसलाई करारमा राखिएको थियो । त्यसै भएर उनलाई सधैंझैं प्रयोग गरिएको हो भनेर जवाफ दिने र टार्ने कोशिस गरेको छ । तर यो संसदीय छानविन समिति गठन गरेर यो टुंगोमा पुग्नु पर्दछ भन्ने पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी छ ।’

Publish on: