काठमाडौं । सरकारले ट्याक्सीलाई विशेषताका आधारमा तीन वर्गमा वर्गीकरण गरेको छ । यातायात व्यवस्था विभागले तयार गरेको ‘ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड, २०८०’ को मस्यौदामा ट्याक्सीका रुपमा प्रयोग हुने सवारीहरुलाई तीनिहरुमा भएको विशेषताका आधारमा तीन वर्गमा वर्गीकरण गरिएको हो । आकार, यान्त्रिक क्षमता र उपलब्ध सुविधाको स्तरलगायतका आधारमा ट्याक्सीहरुलाई साधारण, विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) वर्गमा वर्गीकरण गरिएको हो ।
साधारण ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधानमा इन्टरनल कम्बसन इन्जिन जडित सवारीको हकमा ८ सय सीसी वा सोभन्दा माथि हुनुपर्नेछ । विद्युतीय सवारीको हकमा ब्याट्रीमा संचित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भार (केजी) बीचको न्यूनम अनुपात ०.०१२ हुनुपर्ने व्यवस्था गरिएको छ ।
साधारण ट्याक्सीको हकमा अधिकतम इन्जिन वा मोटर शक्ति ३० किलोवाट वा सोभन्दा माथि, अतिकतम इन्जिन वा मोटर टकृ ६० न्युटन मिटर वा सोभन्दा माथि, ह्वील बेर २३ सय मिलिमिटर वा सोभन्दा माथि र बुट स्पेस १६० लिटर वा सोभन्दा माथि हुनेपर्ने छ । साधारण ट्याक्सीमा मनोरन्जनका लागि कम्तीमा सवारीको अगाडि वा पछाडि साउण्ड सिस्टम हुनुपर्ने व्यवस्था मस्यौदाले गरेको छ ।
त्यस्तै, विशेष (डिलक्स) ट्याक्सीको हकमा सरकारले फरक व्यवस्था गरेको छ । इन्टरनल कम्बसन इन्जिन जडित सवारीको हकमा १२ सय सीसी वा सोभन्दा माथि हुनुपर्ने र विद्युतीय सवारीको हकमा ब्याट्रीमा सञ्चित हुने उर्जा र सवारीको कुल भारबीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने व्यवस्था गरेको छ ।
डिलक्स ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनमा अधिकतम इन्जिन वा मोटर शक्ति ५० किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्युटन मिटर वा सोभन्दा माथि, ह्वील बेस २४ सय मिलिमिटर वा सोभन्दा माथि र बुटस्पेस २ सय लिटर वा सोभन्दा माथि हुनुपर्ने व्यवस्था गरेको छ ।
डिलक्स ट्याक्सीमा हुनुपर्ने अन्य विशेषताहरुमा मनोरन्जनका लागि सवारीको अगाडि र पछाडि साउन्ड सिस्टम, टच स्क्रिन सहितको डिस्प्ले स्क्रिन कम्तीमा एउटा, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल अगाडि र पछाडि, जाडो गर्मी सबै मौसमका लागि उपयुक्त हुने स्वचालित वातानुकुलन प्रणाली (एसी)र पछाडि रिडिङ ल्याम्प हुनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
त्यस्तै, लक्जरी ट्याक्सीको हकमा भने सबैभन्दा धेरे विशेषताहरु रहेका छन् । इन्टरनल कम्बसन इन्जिन जडित सवारीको हकमा २ हजार सीसी वा सोभन्दा माथिको हुनुपर्नेछ भने विद्युतीय सवारीको हकमा ब्याट्री सञ्चित हुने उर्जा र सवारीको कुल भार बीचको न्युनतम अनुपात ०.०२५ हुनुपर्ने व्यवस्था गरिएको छ ।
योसागै अधिकतम इन्जिन वा मोटर शक्ति १ सय किलोवाट वा सोभन्दा माथि, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्युटन मिटर वा सोभन्दा माथि, ह्वील बेस २७ सय मिलिमिटर वा सोभन्दा माथि र बुटस्पेस ४ सय लिटर वा सोभन्दा माथि हुनुपर्नेछ ।
त्यसबाहेक लक्जरी ट्याक्सीका रुपमा सञ्चालन हुने सवारी साधनमा मनोरञ्जनका लागि सवारीको अगाडि र पछाडि साउण्ड सिस्टम, सवारीको पछाडिको सिटका लागि टच स्क्रिन सहितको कम्तीमा दुईवटा डिस्प्ले स्क्रिन, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल अगाडि र पछाडि, जाडो गर्मि सबै मौसमका लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रण सहितको स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकुलन प्रणाली, पछाडिको सिटको लागि समेत वातानुकुलित हावा प्रवाह हुने हावा पथ, पछाडिको यात्रुको लागि हात हड्याउने आर्म रेस्ट, अगाडि र पछाडि कप होल्टर, पछाडि रिडिङ ल्याम्प, पछाडिको सिटका यात्रुका लागि मोबाइल वा अन्य विद्युतीय उपकरण चार्ज गर्न डिसि वा एसी पावर आउटलेट, वाईफाइ इन्टरनेट सुविधा, अगाडिको शिर कक्ष र पछाडिको शिर कक्ष (हेड रुम) कम्तीमा क्रमशः हजार मिलिमिटर र ९५० मिलिमिटर हुनुपर्ने र अगाडिको लेज रुम र पछाडिको लेज रुम क्रमशः १ हजार मिलिमिटर र ९ सय मिलिमिटर हुनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
वर्गीकरणकै आधारमा ट्याक्सीको भाडा दर पनि रहने व्यवस्था उक्त मापदण्डमा गरिएको छ । मापदण्डकाअनुसार साधारण वर्गको ट्याक्सीको भाडादर सरकारले ट्याक्सीका लागि तोकेको भाडादर बराबर हुनेछ । विशेष (डिलक्स) वर्गको ट्याक्सीको भाडादर भने साधारण वर्गको ट्याक्सीको भाडादरभन्दा २० प्रतिशत बढी हुनेछ । विशिष्ट (लिक्जरी) ट्याक्सीको भाडादर साधारण वर्गको ट्याक्सीको भन्दा शतप्रतिशतसम्म बढी हुने व्यवस्था मापदण्डमा गरिएको छ ।
हरेक ट्याक्सीमा साधारण, डिलक्स वा लक्जरी कुन हो भन्ने विषयलाई लिएर कम्तीमा ६० मिलिमिटरको रातो रंगमा लेखिएको अंग्रेजी अक्षरका संकेत चार स्थानमा राख्नुपर्ने पनि व्यवस्था मस्यौदामा गरिएको छ । जसअनुसार साधारणका लागि अंग्रेजीको ओ, विशेष (डिलक्स)का लागि अंग्रेजीको डि र लक्जरीका लागि अंग्रजी अक्षर एल लेखिएको स्टिकर टाँस्नुपर्नेछ । यो स्टिरकर अगाडिको सिसाको चालकतर्फको माथिल्लो कुनामा, पछाडि पट्टिको दाँया र बाँया ढोकाको सिसामा र पछाडिको सिसाको दायाँतर्फको कुनामा राख्नुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ ।
ट्याक्सीमा पनि न्यूनतम सुरक्षा विशेषता
सोही मस्यौदामा सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनमा हुनुपर्ने न्यूनतम सुरक्षा विशेषताहरुको पनि व्यवस्था गरेको छ ।
मापदण्डको मस्यौदामा उल्लेख भएअनुसार एन्टिलक ब्रकिङ प्रणाली र इलेक्टेनिक ब्रेक फोर्स डिस्ट्रीब्युसन, चालक र चालकसँगै सिटमा बस्नेका लागि एयरब्याग कम्तीमा दुई वटा, हाइस्पिड संकेत प्रणाली, पछाडिको ढोकामा चायल्ड लक, सबै सिटका लागि सिट बेल्ट, सेन्ट्रल लकिङ प्रणाली, चालक र चालकसँगै बस्नेको सिटमा सिट बेल्ट लगाए नलगाएको जानकारी दिने सिस्टम तथा पार्किङ गर्दा पछाडिको जानकारी दिने संकेत (सेन्सर) वा क्यामेरा समेत हुनुपर्ने व्यवस्था गरिएको छ ।
ट्याक्सीका लागि प्रयोग हुने सवारी साधनमा अनिवार्य रुपमा प्रिन्टर सहितको डिजिटल भाडा मिटर र डिस्प्ले सहितको जिपिएस न्याभिगेसन प्रणाली पनि हुनुपर्ने व्यवस्था मस्यौदामा गरिएको छ । त्यस्तै, ट्याक्सीको छतमा राखिने संकेत बत्तीमा सवारी खाली हुँदा हरियो बल्ने, खाली नुहँदा रातो बल्ने र सवारी सेवामा नहुँदा (अफ ड्युटी हुँदा) सेतो बल्ने व्यवस्था पनि गरिनुपर्ने मस्यौदामा उल्लेख छ ।
प्रदेश सरकारले बनाएको मापदण्डहरुको आधारमा हाल देशमा ट्याक्सीहरु चलिरहेका छन् । यसअघिका मापदण्डहरु पुरानो भएर खारेज भएपछि यातायात व्यवस्था विभागले नयाँ मापदण्ड बनाएको हो । यो नयाँ मापदण्ड देशभर कार्यान्वयनमा आउनेछ । नयाँ मापदण्डको मस्यौदा जस्ताको त्यस्तै कार्यान्वयनमा आउने किसिमले पास भएमा यसको बुँदा नम्बर ८ मा उल्लेख भएअनुसार प्रदेश सरकार मातहतको यातायात व्यवस्था कार्यालयले वर्ग कायम प्रमाणपत्र प्राप्त मोडेलको सवारीलाई मात्र ट्याक्सीको रुपमा दर्ता गर्न सक्ने छ ।
SHARE YOUR THOUGHTS