प्रधानमन्त्रीको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या प्राथमिकतामा नपरेको भन्दै माधव नेपालको असन्तुष्टि « Eglish Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या प्राथमिकतामा नपरेको भन्दै माधव नेपालको असन्तुष्टि



सत्तारुढ दलका नेताहरुले नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा डुबानसम्बन्धि समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा डुबान समस्याको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भारतले ठूलो बाँध बाँधेका कारण नेपाली भूमिमा डुबानको धेरै समस्या भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमणमा गम्भिरताका साथ कुरा नभएको गुनासो गरे । डुबानबाट नेपालले ठूलो क्षति व्यहोर्नु परिरहेको उल्लेख गर्दै उनले त्यसबारे नेपाल सरकारले भारतसँग गम्भिरतापूर्वक कुरा राख्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भारतले सीमावर्ती जिल्लाहरुमा अग्लो बाँध बनाएका कारण नेपालको भूमि डुबानमा पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

बैठकमा बोल्दै काँग्रेस नेता निधीले डुबानको समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालको भारत भ्रमणमा प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सो समस्या समाधानका लागि दुवै मुलुकबीच भएको सन्धि, सम्झौता र अन्तराष्ट्रिय कानूनको ख्याल गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए ।

Publish on: